Main News

कोरोना संक्रमणको दोस्रो लहरको जोखिम कायमै, सतर्कता अपनाउन विज्ञको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते २०:३३
कोरोना संक्रमणको दोस्रो लहरको जोखिम कायमै, सतर्कता अपनाउन विज्ञको आग्रह (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । देशको राजनैतिक परिस्थितिका कारण कोरोना संक्रमण अहिले ओझेलमा परेको छ । अधिकांसले कोरोनाबाट बच्ने सावधानी पनि अपनाउन छोडेका छन् । अहिले भैरहेको गतिविधि देख्दा कोरोनाको संक्रमण सकिएकै जस्तो लाग्छ । नेपालमा अहिले कोरोना संक्रमणको अवस्था र भविष्यको जोखिमबारे विज्ञ के भन्छन ?

नेपालमा कोरोना भाइरसको चर्चा अहिले कम हुँदैछ । कोरोनाको चर्चा कम भए पनि अहिले भेन्टिलेटर आइसीयूमा ३ सयभन्दा बढी संक्रमित छन् । तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या भने घट्दै गएको देखिन्छ । विज्ञ पनि नेपालमा संक्रमण घट्दै गएकोमा सहमत देखिन्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले कोरोना संक्रमण दर परीक्षणको दशदेखि १२ प्रतिशत मात्रै छ । कुनै समय यो दर ३३ प्रतिशतसम्म पुगेको थियो । यसलाई आधार मानेर पनि कोरोना महामारी घट्दै गएको आंकलन गरिएको हो । सरकारी अधिकारी पनि अहिले यस्तै विष्लेषणमा पुगेका छन् ।

कुनै पनि महामारीको लहर घट्ने र बढ्ने भइरहन्छ । युरोपका मुलुकमा अहिले संक्रमणको नयाँ लहर देखिएको छ । नेपालमा अहिले संक्रमण कम भए पनि दोस्रो लहरको जोखिम भने कायमै रहेको सरकारी अधिकारीको भनाइ छ । तर कतिपय विज्ञ भने पहिलो लहर नै नसकिएको बताइरहेका छन् । अहिले भैरहेको भिडभाडका कारण पहिलो लहर नै पुन सक्रिय हुनसक्ने उनीहरुको अनुमान छ ।

कोरोना संक्रमण दर घट्दै जानु राम्रो संकेत हो । संक्रमणको दर घटेको समयमा नै सावधानी अपनाउन सके यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर अहिले संक्रमण घटेका बेला लापरवाही भने बढेको छ । यसले संक्रमणको पहिलो लहर फेरि सक्रिय हुने वा दोस्रो लहर आउनसक्ने जोखिम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *