राजनीति

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाएः वरिष्ठ नेता खनाल (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १५ गते १६:५१
प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाएः वरिष्ठ नेता खनाल (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ ।

काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताउनु भएको हो ।

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन् त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो । त्यो अराजक मान्छेहरुको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेको समेत वरिष्ठ नेता खनालले बताउनु भएको छ । संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताउनुभयो । प्रधानमन्त्री ओलीमा देखिँदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकारको अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन् तर आज आफ्नै हस्ताक्षरलाई उनले बलात्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरीत उनले अहिले फेरी संसद विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरी प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भए पनि अब बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताउनुभयो । एक पटकको नजिरमा टेकेर फेरी पनि यस्ता कदम आउने भएकाले संसद पुनर्स्थापनाको विकल्पन नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो कुनै पनि बेलामा चुनाव भयो चुनाव भएर सरकार बन्यो भने पनि कुनै पनि प्रधानमन्त्रीले यो संसद कुनै पनि बेलामा विघटन गर्न सक्छन् । अब यो नजिर हुन्छ । यदि यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०/६०/७० वर्षसम्म अस्थिरताको शिकार भयो फेरी त्यो अस्थिरताको शिकार हुने दिशातर्फ अगाडि बढ्छ ।’

रानीतिक दल सम्बन्धी ऐनको धारा ३३ अनुसार कुनै पनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई ५ वर्षसम्म फुटाउन नमिल्ने बताउनुभयो । तर फुटाउनैपर्ने परिस्थिति भए पनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०/४० प्रतिशत हुनैपर्ने बताउनुभयो । अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रवामपन्थी र कहिले दक्षिण वामपन्थी भड्काउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भर्‍याङ मात्रै बनाएको आरोपसमेत लगाउनुभयो ।

राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरु निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केही पनि काम गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, मान्छेहरुलाई लिने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो । त्यहीँ बालुवाटारमा पनि छ की छैन ग्यास चुल्हो । ग्यास पाइप ।’

प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताउनुभयो ।

संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले संघर्षमा जानुको हामीसँग कुनै विकल्प छैन । हामी अदालतले के गर्छ त्यो पर्खेर बस्न पनि सक्थ्यौं तर अदालतले गर्ने कुराहरु के हो भनेर पर्खिने अवस्था हामीलाई भएन । किनभने यो संविधानमाथिको अत्यन्त ठूलो आक्रमण हो । संविधानमाथिको आक्रमण, लोकतन्त्रमाथिको आक्रमण हो । हाम्रो जीवनमाथिको आक्रमण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्