Main News

देशमा फेरि लोडसेडिङ शुरु भएकै हो ? किन गइरहेछ बत्ती ? के भन्छ विद्यूत प्राधिकरण ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते १९:०८
देशमा फेरि लोडसेडिङ शुरु भएकै हो ? किन गइरहेछ बत्ती ? के भन्छ विद्यूत प्राधिकरण ? (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । पछिल्लो समय झ्याप्प–झ्याप्प बत्ती जाने र लामो समय नआउने क्रम बढ्दै गएको छ । बत्ती जानेक्रम बढ्दै गएपछि नागरिक फेरि लोडसेडिङ शुरु भएको हो कि भनेर चिन्तित छन् । तर नेपाल विद्युत प्राधिकरणले भने प्राविधिक कारणले बेलाबेला बत्ती गएपनि लोडसेडिङको अवस्था नरहेको दाबी गरेको छ ।

केही महिनायता दैनिक जसो बत्ती जानेक्रम बढेको छ । झ्यापझ्याप्प बत्ती गइरहने क्रम बढेपछि अनेक आशंका उठेको छ । कतिपयले त अघोषित लोडसेडिङ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । तर प्राधिकरणले भने माग ‍अनुरुप नै बिजुली पूर्ति भइरहेको भन्दै लोडसेडिङको संभावना नरहेको दाबी गरेको छ ।

प्राधिकरणका अनुसार अहिले दैनिक करिब १ हजार ४ सय ३० मेगावाट विद्युत माग छ । प्राधिकरण अन्तर्गतका आयोजनाबाट ५ सय १६ र निजी क्षेत्रबाट ३ सय २० गरी ८ सय ३६ मेगावाट मात्र उत्पादन भइरहेको छ ।

आन्तरिक उत्पादनले नधानेपछि प्राधिकरणले भारतबाट ५ सय ९४ मेगावाट विद्युत आयात गरिरहेको छ । माग अनुसार नै आपुर्ति भइरहेको प्राधिकरणको दाबी छ । तर प्राधिकरणको आँकडामा लोडसेडिङ नदेखिए पनि बत्ती जान भने रोकिएको छैन् । यसका पछि प्राविधिक कारण रहेको प्राधिकरणको प्रष्टोक्ति छ ।

हिटर, एसीलगायतका जाडो छल्ने उपकरणको प्रयोग बढेसँगै अहिले विद्युतको माग उच्च भएको छ । यही समयमा पोहोरको दाँजोमा यो वर्ष ९० मेगावाट बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ ।

भारतबाट पर्याप्त मात्रामा बिजुली आयात भए पनि प्राधिकरणमा व्यवस्थापकीय क्षमताको अभाव देखिएको छ । अहिले प्राधिकरण निमित्त प्रमुखको भरमा चलिरहेको छ ।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं फिल्डमा खटिनुहुन्थ्यो । तर उहाँको पुनर्नियुक्ति गरिएन । अहिले घिसिङजस्तै व्यक्तिको अभाव खडकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *