नयाँ प्रकारको कोरोना देखिएसँगै खाडी खुलुकमा अन्तर्राष्ट्रिय उडान रोकिन थाले
१४ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् ।
नेपाली श्रमिकको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन् । त्यस्तै, खाडीका अन्य मुलुकहरूले पनि उडान रोक्ने तयारी गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
संघका सचिव मेघनाथ भुर्तेलका अनुसार कतारबाहेक मलेसिया र खाडीका मुलुकले उडान रोक्ने विषयमा छलफल गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पुनः प्रभावित हुने भएका छन् ।
नयाँ भाइरसका कारण खाडी मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपिए नेपाली श्रमिक प्रभावित हुने कुवेतका लागि नेपाली राजदूत डा दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।
कुवेत सरकारले श्रमिकका लागि भिसा रोकेको भए पनि बिदामा रहेका श्रमिकलाई कुवेत प्रवेशका लागि भने खुला गरेको छ । त्यस्तै, साउदी सरकारले पनि अर्को एक साता प्रतिबन्ध लम्ब्याउन सक्ने साउदीका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंहले बताउनुभयो ।
ओमानले २२ डिसेम्बरदेखि २९ डिसेम्बरसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नेपाल सरकारले पनि बेलायत हुँदै नेपाल आउने सबै उडानलाई रोक लगाएको छ ।
प्रतिक्रिया