Main News

काेराेना खाेप ल्याउन यस्ताे छ सरकारकाे तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते २०:५४
काेराेना खाेप ल्याउन यस्ताे छ सरकारकाे तयारी (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । विभिन्न देशले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । नेपालमा खोप कहिले आउँछ भन्ने अझै अनिश्चित छ । सरकारी अधिकारी भने खोप ल्याउन प्रयास गरिरहेको बताइरहेका छन् । पछिल्लो राजनीतिक परिवर्तनले खोप ल्याउने प्रयासमा बाधा पुगेको छ । नेपालमा खोप ल्याउन भएको सरकारी तयारी कस्तो छ त ?

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको नौं महिना बितिसकेको छ । यो अवधीमा कोरोनाका कारण करिव २ हजार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी देखिएसँगै सरकारले पनि नेपाल ल्याउन तयारी गरिरहेको जनाएको छ ।

७२ प्रतिशत नागरिकलाई खोप लगाउनेगरी तयारी भइरहेको सरकारको दाबी छ । खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति समेत बनाइएको छ । नेपालका लागि उपयुक्त हुने खोप ल्याउने तयारी भइरहेको सरकारी अधिकारी बताउँछन् ।

नेपालमा खोप ल्याउन करिब ४८ अर्ब रुपैयाँ लाग्ने अनुमानसहितको विवरण स्वास्थ्य मन्त्रालयमार्फत मन्त्रिपरिषद्बबाट स्वीकृत भैसकेको छ। बजारमा आइसकेका फाइजर र मोर्डेनाका खोप भण्डारण गर्न नेपालमा सम्भव नदेखिएपछि अन्य कम्पनीसँग कुरा अघि बढाइएको छ । भण्डारण गर्न उपयुक्त खोपका लागि कोल्ड चेन बनाउने तयारी भइरहेको सरकारको दाबी छ ।

विश्व स्वास्थ्य संगठनले अनुदानमा दिने भनेको खोपका लागि पनि सरकारले प्रयास गरिरहेको जनाएको छ । यस्तो खोप आगामी चार महिना भित्रै आउने सम्भावना रहेको अधिकारी बताउँछन् । सरकारले भारतमा बनिरहेका र स्वीकृति पाउने अन्तिम चरणमा रहेका खोपका लागि बढी जोड गरिरहेको छ ।

अहिलेसम्म कोरोनाविरुद्ध विभिन्न देशमा बनेका करिव एक दर्जन खोप अन्तिम चरणको परीक्षणमा छन् । तीमध्ये ३ वटा खोपले आकस्मिक प्रयोग गर्ने अनुमति पाएका छन् । अमेरिका, बेलायत, क्यानाडा लगायतका देशले खोप अभियान सुरु गरिसकेका छन् ।

नेपाल सरकारले सबै तयारी गरिरहेको बताएपनि, देशको राजनैतिक अबस्थाले भने अड्चन सृजना गरेको छ । सरोकारवाला मन्त्रालयमा नेतृत्व परिवर्तन भएको छ । त्यसैले नेपालमा खोप कहिले आउँछ अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *