राजनीति

प्रधानमन्त्री ओली जंगेको बाटोमा हिँडे, केही महिनामै छिनोफानो हुन्छः प्रचण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते २०:३८
प्रधानमन्त्री ओली जंगेको बाटोमा हिँडे, केही महिनामै छिनोफानो हुन्छः प्रचण्ड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिनामै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लडाइँ वारपार हुने बताउनुभएको छ । भोलिदेखि हुने संघर्ष निर्णायक हुँदै केही महिनामै परिणाम आउने प्रचण्डको दावी छ । पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीप्रति आक्रामक टिप्पणी गर्नुभयो ।

ओली प्रतिगामी भएको आरोप
प्रतिनिधिसभा विघटन भएर पार्टी विभाजित भएपछि नेकपाका दुई समूह आरोप प्रत्यारोपमा उत्रिएका छन । र, त्यसको अगुवाई पनि शीर्ष नेताले नै गरिरहेका छन । केही दिन अघि बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र नेपालले देश बर्बाद पारेको आरोप लगाउनुभएको थियो । सोमबार प्रचण्डले त्यही आरोप ओलीमाथि आरोप लगाउनुभयो । प्रचण्डका अनुसार ओलीको बाटो देश र जनविरोधी छ ।

‘ओली जंगबहादुर हुन खोजे’
ओलीमाथि प्रचण्डको आरोप छ, जंगबहादुर हुन खोजेको । यसो भनेर प्रचण्डले ओलीको लोकतन्त्र र जनअधिकारमाथिको विश्वास र निष्ठामा गम्भीर प्रश्न उठाउनुभएको छ ।

‘केपीले हारे, कलंकको टीका लगाए’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नुभएको छ । तर, प्रचण्ड त्यो मान्न तयार हुनुहुन्न । किनकी प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएकाले त्यो ज्यूँदैछ । र अदालतले पनि त्यस्तै निर्णय गर्छ उहाँको विश्वास छ ।

प्रचण्डको ओलीलाई धन्यवाद
प्रचण्डले ओलीको आलोचना मात्रै गर्नुभएन, धन्यवाद पनि दिनुभएको छ । किनकी ओलीकै कारण अहिले जनतामा जाने मौका मिलेको छ । र ओलीले त्यो मुद्दा दिनुभएको । सत्ताका लागि संघर्षमा उत्रेको भनेर आरोप लागिरहेका बेला प्रचण्डले त्यसलाई जनतामा जाने मौका भनेर व्याख्या गर्नुभएको हो । ओली सरकारले घोषणा गरेको चुनाव प्रचण्ड–नेपाल समूहले स्वीकार त गरेको छैन तर प्रचण्डले अर्को चुनाव आफूहरुले जित्ने दावी भने गर्न भ्याउनुभयो ।

केही महिनामै फाइनल
प्रचण्ड–नेपाल समूहले मंगलबार प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर प्रदर्शन गर्दैछ । र, प्रचण्डले यसलाई शुरुवात भन्नुभएको छ । र, यो संघर्षको परिणाम आउन केही समय लाग्नेछ ।

विभाजनसँगै दुवै पक्ष जसरी एक अर्काविरुद्ध उत्रिएका छन्, यसले नेकपाका दुई समूहबीचको संघर्ष निकै पेचिलो हुने र, आरोप प्रत्यारोपका श्रृंखला निकै चल्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्