राजनीति

पेरिसडाँडाबाट प्रधानमन्त्री ओलीलाई दिए प्रचण्डले यस्तो चुनौती (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते १८:०९
पेरिसडाँडाबाट प्रधानमन्त्री ओलीलाई दिए प्रचण्डले यस्तो चुनौती (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजाधिराज जंगेको बाटोमा हिँडेको बताउनुभएको छ ।

जनसाँस्कृतिक महासंघले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासकजस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको बताउनुभएको हो । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘म, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु पलेँटी कसेर बाटोमा जाँदा यिनीहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखेँ मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं । केपी ओली सामन्ती शासकजस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको शुरुवात भयो ।’

पार्टीभित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्‍याएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि बताउनुभयो । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कै पनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतकाबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधानअनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी, गुटवादी तरिकाले पार्टी विधि पद्धतिभन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो । तर त्यो पार्टीभित्रको संघर्ष थियो । पार्टीभित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टीका लगाउनुभयो । हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको शुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि बताउनुभयो । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरी एकपटक लडने मुद्दा दिनुभएकाले अब हुने कुनै पनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । तर पछिलो समय जे भइराखेको छ त्यो क्रान्ति र प्रतिक्रान्तिकोबीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ति र प्रतिक्रान्तिको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगति र दुर्गतीको बीचको लडाईको रुपमा रहेको छ ।’

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको विचारमा गम्भीर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा वैचारिक साँस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आज हाम्रो कम्युनिष्ट पार्टीभित्र पनि एउटा ठूलो वैचारिक साँस्कृतिक विचलन देखा पर्‍यो । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी विचलन देखा पर्‍यो । हामीले झण्डै ७० वर्ष लामो लडाई लडेर ल्याएको उपलब्धीमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि निर्मम र कुप्रहार भएको छ । कम्युनिष्ट पार्टीभित्रैबाट तपाई हामीले नै अगाडि बढाएको नेतृत्वबाट ७ दशक लगाएर हजारौं हजार सहिदहरुको बलिदान लाखौंको त्याग करोडौंको सहभागिता समूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा संघीय लोकतान्त्रिक संविधान बनाइएको छ ।’

२०४७ सालपछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संविधानसभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताउनुभयो । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो । यो सदनमाथिको मात्रै प्रहार होइन । यो सांसदहरुको सार्वभौंम अधिकारमाथिको मात्रै प्रहार होइन ।’

उहाँले प्रतिनिधि सभा नमरेको समेत बताउनुभयो । प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सदन मरेको छैन, सदन जीवित छ । सदन विघटन भएको छैन । सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनताका विरुद्धमा संविधानको मर्म र भावनाविपरीत गएपछि उ विघटित भएको हो ।’

सम्मानीत अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मानप्रति अपमान भएको ठहर्नेसमेत बताउनुभयो । त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधानमाथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेशिता र समावेशी लोकतन्त्रको हक अधिकारमाथिको प्रहार भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘केपी ओलीले जुन ढंगले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेशिता, र समावेशी लोकतन्त्रको हक अधिकारमाथि जो प्रहार गरेका छन त्यो सही हुन सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्