Main News

उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउँदै, यस्ता छन् चार दिने कार्यक्रम

हिमालय टिभी
२०७७ पुष १२ गते ७:३६
उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज नेपाल आउँदै, यस्ता छन् चार दिने कार्यक्रम

१२ पुस २०७७ काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी, अन्तर्राष्ट्रिय विभागक उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायत चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो । बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै दिउँसो काठमाडौं उत्रिने कार्यक्रम छ ।

सत्तारुढ दल नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय टोली काठमाडौं आउन लागेको हो ।

उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।

चीनले नेकपाको विभाजनले नेपालमा अस्थिरता झन् बढ्ने र संविधान निर्माणभन्दा अगाडिको अवस्थामा नेपाल पुगेको विश्लेषण गरेको छ। त्यही भएर पनि उसले पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीलाई नै विभाजनभित्रको कारण खोतल्ने उद्देश्यले काठमाडौं पठाएको हुन सक्ने अनुमान गरिएको छ ।

गुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा वरिष्ठ नेता हुन्। आज आउन लागेका नेता गुओ ०७४ फागुन ८ मा पनि नेपालमा थिए ।

एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ०७४ फागुन ३ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि एमाले र माओवादीबीच पार्टी एकीकरण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *