संसद विघटनविरुद्ध परेका सबै रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
१० पुस २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ ।
बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा बहस गर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ईजलाशले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै १२ रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको थियो ।
सबै रिटमा प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेशको माग गरिएको थियो । तर प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद गम्भीर संवैधानिक व्याख्याको विषय भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाउनुभएको थियो ।
बुधबारको आदेशपछि आजदेखि सुनुवाइ शुरु हुन लागेको हो । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। यसका लागि सर्वोच्चले बनाएको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश राणाले छान्नुहुनेछ ।
विघटनविरुद्ध सर्वोच्चमा परेका सबै रिटमा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ।
रिटमा प्रधानमन्त्री र राष्ट्रपतिले मनोगत लहडका आधारमा प्रतिनिधिसभा विघटन गरेको, नभएको अधिकार प्रयोग गरेको तथा मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट जारी हुने दुवै कार्य असंवैधानिक रहेको जिकिर गरिएको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अब सबैको नजर न्यायालयमा केन्द्रित छ । तर १३ वटा रिटमाथि सुनुवाइ गर्नुपर्ने भएकाले यो मुद्दा केही लम्बिने सम्भावना छ ।
प्रतिक्रिया