Main News

आन्दोलन छायाँमा परे पनि उखु किसानको अडान कायम, भन्छन् – आन्दोलन चर्काउँछौँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १० गते ६:३३
आन्दोलन छायाँमा परे पनि उखु किसानको अडान कायम, भन्छन् – आन्दोलन चर्काउँछौँ (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । उखुको भुक्तानी माग गर्दै किसान दुई सातादेखि आन्दोलित छन् । किसानले आन्दोलन थालेपछि गृहमन्त्रालयले चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय ग-यो ।

तर निर्णय भएको एकसातासम्म पनि कोही संचालक पक्राउ परेका छैनन् । पछिल्लो समय विकसित राजनैतिक घटनाक्रमका कारण किसान आन्दोलन पनि छायाँमा परेको छ । तर किसान भने आन्दोलन अझै सशक्त बनाउने तयारीमा छन् ।

किसानले आन्दोलन चर्काएपछि गृह मन्त्रालयले मंसिर ३० गते उखुको पैसा भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गर्यो । सरकारले मिल सञ्चालकलाई प्रकाउ गरेर आफूहरुको पैसा उठाइदिने भयो भन्ने उखु किसानको अपेक्षा थियो । तर सरकारले निर्णय गरेको एक हप्ता बित्दा समेत न त कुनै सञ्चालक पक्राउ परेका छन्, न त उनीहरुल‍े भुक्तानी नै दिएका छन् । यसले किसानलाई थप निराश बनाएको छ ।

सरकारले पक्राउको आदेश दिएपछि श्रीराम र अन्नपूर्ण सुगर मिलले भुक्तानी सुरु गरेका छन् । अन्यले भाका राखेका छन् । तर पछिल्लो राजनैतिक घटनाले सरकार, नागरिक समाज र विपक्षी दलको ध्यान अन्यत्रै मोडिएको छ ।

यसको मौका चिनी मिल सञ्चालकले उठाएका छन् र भुक्तानीबाट भाग्न थालेका छन् । त्यसैले काठमाडौंमा बढ्दै गएको चिसोको प्रवाह नगरी अझ सशक्त आन्दोलन गर्ने किसानको तयारी छ ।

सरकारले पोहोर नै एक महिनाभित्र उखुको भुक्तानी दिलाई छाड्ने प्रतिवद्धता जनाएको थियो । तर पोहोर पुसमा सरकारले गरेको यो प्रतिबद्धता पुरा नभएपछि किसानले अहिले आन्दोलन गरिरहेका छन् ।

आन्दोलन सुरु गरेको एक हप्तापछि बल्ल चिनी मिल सञ्चालक पक्रेर भए पनि पैसा उठाइदिन्छौँ भनेको सरकारले त्यो पनि पुरा गरेन् । बरु मिल सञ्चालक नै नभेटिएको र खोजी कार्य जारी रहेको सरकारको दाबी छ ।

चिनी मिल सञ्चालकले देशभरका उखु किसानको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उखु किसान सोही रकमको माग गर्दै काठमाडौं आएर आन्दोलन गरिरहेका छन् । बाँकी भुक्तानी नपाउञ्जेल घर नफर्कने किसानको अडान छ ।

तर पछिल्लो समय विकसित राजनैतिक घटनाक्रमले किसानको मुद्धा ओझेलमा पर्ने देखिएको छ । यसले आफ्नै पैसा पाउन आन्दोलन गरिरहेका किसानको आन्दोलन अझ लम्बिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *