राजनीति

नेकपामा फूट : दुई पाइलट यसरी भए दुईतिर (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ८ गते १६:५८
नेकपामा फूट : दुई पाइलट यसरी भए दुईतिर (भिडियोसहित)

८ पुस, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः अनौपचारिक रुपमा विभाजन भएको छ । प्रचण्ड नेपाल र ओली पक्षले आज छुट्टाछुट्टै बैठक गरी आआफ्नो बाटो तय गरेका छन् । नेकपा विभाजनको घोषणा हुन अब औपचारिकता मात्रै बाँकी छ । पार्टी एकताको २ वर्ष ७ महिनामा केके भयो त ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले २०७४ साल असोज १७ गते चुनावी गठबन्धन गरे । विकास र स्थिरताको नारा दिएर चुनाव लडे ।उनीहरुको नाराले काम गर्‍यो । र, चुनावमा करिब दुई तिहाई बहुमत ल्याए । ०७४ साल फागुन ३ गते केपी शर्मा ओली नेतृत्वको सरकार पनि गठन भयो । चुनाव गठबन्धन गर्दा उनीहरुले त्यो चुनावका लागि मात्रै नभएर पार्टी एकतानै हुने भनेका थिए ।

त्यसैले २०७५ साल जेठ २ गते एकताका लागि सहमति भयो । ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीसहित पाँच बुँदे सहमति भयो । त्यसैका आधारमा अर्को दिन जेठ ३ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा पार्टी एकताको औपचारिक घोषणा भयो ।

एकताको एक वर्षमै नेकपामा अनकौं उचार चढाव देखिए । प्रचण्डले पटकपटक आफूले कार्यकारी भूमिका नपाएको गुनासो गर्नुभयो भने वरिष्ठ नेता नेपालले पार्टी विधि पद्धतिमा नचलेको आवाज उठाईरहनुभयो । प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको भन्ने देखि ओलीका कारण देश डुब्न लाग्यो भन्ने नेपालको अभिव्यक्ति आयो । यसले नेकपामा विवाद चर्किँदै भन्ने देखिन थाल्यो ।

०७६ साल मंसिर ४ गते प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा पार्टी र ओलीले पूर्ण कार्यकाल सरकार चलाउने सहमति भयो । यो सहमति पछि केही दिन कुरा मिले जस्तो देखियो । तर ओलीले मै कार्यकारी हो भनेपछि फेरि प्रचण्डले उही गुनासो गर्नुपर्ने अवस्था आयो ।

तर २०७७ साल लागेदेखि नेकपाको विवाद बाहिर देखिने गरी नै छरपष्ट हुन थाल्यो । पार्टीभित्रको विवादकै कारण विरोधीलाई तह लगाउने अस्त्रका रुपमा प्रधानमन्त्री ओलीले बैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर फायर खोल्नुभयो । पार्टीभित्र र विपक्षी दलको विरोधका कारण बैशाख १२ गते अध्यादेश फिर्ता पनि भयो ।

ओलीले पार्टी फोर्ने गरी अध्यादेश ल्याएकाले नियतमाथि गम्भीर शंका गर्न थालियो । र, पार्टीभित्रको विवाद रोकिएन बरु बल्झिैदै गयो । बैशाख १७ गते बसेको बैठकमा ओलीको राजिनामा मागियो । पार्टी विभाजनकै अवस्थामा पुग्यो र अलग हुने भनेर तयारी पनि भयो । तर एकाएक २० गते सहमति भयो । केही समयका लागि थामथुम भयो । तर भित्रभित्रै दुवै पक्ष आफ्ना तयारीमै थिए ।

पार्टीको सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको लागि हस्ताक्षर बुझाउनुपर्ने र पार्टी कार्यालयमा धर्ना बस्नुपर्ने स्थिति समेत नेकपामा आयो ।

असार १० गतेदेखि भदौ २६ गतेसम्म स्थगित हुँदै विभिन्न मितिमा चलेको स्थायी कमिटी बैठकको बीचमा पनि नेकपामा ठूलै भाडभैलो भयो । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको बेला असार १४ गते एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नेपाली नेताहरुसँग मिलेर आफूलाई हटाउन लाग्यो भनेपछि ओलीको दुवै पदबाट राजीनामा माग भयो ।

त्यही कारणले बैठकनै प्रभावित भयो । र, महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएर विवाद समाधान गरियो । तर, विवाद समाधान भएको भनिएपनि कर्णाली प्रदेश र मन्त्रीपरिषद् पूर्नगठनलाई लिएर विवाद बल्झियो । पार्टी विवाद समाधानको लागि कात्तिक २२ गते सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई पत्र समेत बुझाउनुपर्ने स्थिति आयो ।

बहुमत सदस्यको पत्रमा प्रधानमन्त्री ओलीले तोक लगाएर राखेपछि र जवाफ पत्रमार्फत दिएपछि थप समस्या पार्टी आयो । कात्तिक २८ गते प्रचण्डले ओलीमाथि संगिन आरोप लगाउँदै सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेपछि नेकपाको विवादले अर्कै मोड लियो । मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको काउन्टरमा ओलीले अर्को प्रस्ताव पेस गर्नुभयो ।

यसले एकताको औचित्यमाथि प्रश्न उठ्यो । त्यसपछि सचिवालय हुँदै ओलीको अनुपस्थितिमा ओली विरुद्धको प्रस्तावमा छलफल हुने अवस्था आयो । ओलीले पटक पटक प्रस्ताव फिर्ता लिए मात्रै बैठक बस्ने र अघि बढ्ने बताउनुभयो । तर प्रचण्ड तयार हुनुभएन । पुष १ गते प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनुभयो यसमा प्रचण्ड नेपाल पक्षलको आपत्ति जनायो ।

यसको प्रतिवाद स्वरुप प्रचण्ड नेपाल पक्षले संसदको विशेष अधिवेशन मागेर हस्ताक्षर संकलन गर्यो । तर राष्टपति कार्यालयमा दर्ता भएन । बरु बालुवाटारमा छलफल भएर अध्यादेश र हस्ताक्षर दुवै फिर्ता गर्ने सहमति भयो । र ५ गतेका लागि स्थायी कमिटी बैठक तोकियो । तर ओलीले अध्यादेश फिर्ता लिनुभएन बरु ५ गते संसद विघटन गराउनुभयो ।

ओलीले संसद विघटन गर्नुअघि प्रचण्ड नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको पनि खुल्यो । पार्टी भित्रको विवाद संसद विघटन भयो र विवाद बढ्दै गएर मंगलवार औपचारिक रुपमा विभाजनको अवस्थामा पुग्यो । किनकी घोषण गर्न मात्रै बाँकी अरु सबै काम उनीहरुले फरक पार्टीका रुपमा गरेका छन, मात्रै को आधिकारिक हुने लडाइँ मात्रै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्