राजनीति

आगामी चुनावमा नेकपाले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने ओलीको दाबी

हिमालय टिभी
२०७७ पुष ७ गते १४:०८
आगामी चुनावमा नेकपाले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने ओलीको दाबी

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ ।

आज बालुवाटारमा आफू पक्षीय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको हो । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा ५ सय ४७ सदस्य थप गर्नुभएको छ भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले आजै सपथ ग्रहणसमेत गराउनुभएको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो ।

उक्त समुहको केन्द्रीय समिति बैठक दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुभएको हो । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशील, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताउनुभयो ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितिले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरानो केन्द्रीय कमिटीले राष्ट्रिय राजनीति र पार्टीभित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्नसमेत असफल भए । राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता। भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न सकेन । यसर्थ त्यो अभिभारा पुरा गर्न थप गर्नुपरेको हो ।’

अध्यक्ष ओलीले प्रचण्ड­–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकाले पार्टीले गति लिन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब त उहाँहरु महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने यो बाटोतिर पो खेती गरिाख्नु भएको छ । पार्टी एकीकरण टुङ्ग्याउने एकीकरणको बाटोबाट अगाडी बढाउने होइन् । एकीकरणको बाटोबाट पार्टी अगाडि बढ्ने होइन् । बरु उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यही प्रकारको खेती गर्नुभएको छ । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेसन गरिसक्ने छौं ।’
उहाँले अगाडि भन्नुभयो–हामीले चुनावमा पनि जानुछ अब हामी चुनावको तयारीमा जुटछौं चुनावमा जान्छौं । अर्को चुनाव पछि अरु कामहरु बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरुलाई पुनर्गठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कम गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनु पर्नेछ ।’

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’

ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ । यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्