राजनीति

नेकपाका बहुमत सांसदको भेलाले गर्‍यो–प्रतिनिधिसभाको नियमित काम अघि बढाउन माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ६ गते १७:११
नेकपाका बहुमत सांसदको भेलाले गर्‍यो–प्रतिनिधिसभाको नियमित काम अघि बढाउन माग (भिडियोसहित)

६ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

आज संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन अस्वीकार गर्ने र तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान बमोजिम संसद बैठक बोलाउने समय भइसकेकाले संसद अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालको संविधानमा भएको प्रतिनिधिसभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भुमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधिसभाको विघटनले सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेकोप्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसदको अधिवेशन अविलम्ब आव्हान गर्न यो बैठक माग गर्दछ ।’

बैठकले संविधानअनुसार प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको ठहर गर्दै विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढाउन माग गरेको हो ।

अहिलेको परिस्थितिमा एकताबद्ध हुन सबैमा आव्हान गरेको प्रमुख सचेतक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार भएको र देशको राजनीतिक भविष्य अनिश्चयतर्फ धेलिएको यस घडीमा राष्ट्रिय हित, संविधान र लोकतन्त्रका पक्षधर सबै माननीय सदस्यहरु, राजनीतिक दल, पत्रकार नागरिक समाज र आम जनसमुदायलाई एकताबद्ध भई प्रतिनिधि सभाको कथित विघटनको विरुद्धमा तथा लोकतन्त्रको पक्षमा अघि बढ्न यो बैठक हार्दिक आव्हान गर्दछ ।’

प्रमुख सचेतक गुरुङले संसद विघटनको कदमविरुद्ध पार्टीले कानूनी र राजनीतिक प्रक्रिया अघि बढाउने बताउनुभएको छ । सांसदहरुको अर्को भेला बुधबार बोलाइने पनि नेता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्