प्रचण्ड–माधव समूहलाई कानून र संविधानविद्हरुले कस्तो सुझाव दिए ?
६ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसद विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ ।
आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले संविधानविद् एवं कानुनविद्सँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेसँगै आगामी संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्सँग छलफल गरिएको हो ।
नेकपाले संसद विघटनलाई गैरसंंवैधानिक भन्दै यस कदमलाई सम्पूर्ण रुपमा अस्वीकार गरेको यसअघि नै जनाइसकेको छ । छलफलमा संविधानविद् एवं कानुनविद्हरुले प्रधानमन्त्रीले असंंवैधानिक कदम चाल्नुभएको र यसरी संसद विघटन हुन नसक्ने धारणा राख्नुभएको छलफलमा सहभागी राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले बताउनुभयो ।
सांसद बिडारीले सांसदहरुले अझै सांसदको लोगो लगाउने, राष्ट्रपति समक्ष संसद अधिवेशन बोलाउन माग गर्ने र अधिवेशन नबोलाइए अरु रणनीतिमा जाने पनि बताउनुभयो ।
छलफलमा संविधान एवं कानुनविद्हरु शम्भु थापा, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया