Main News

संसद विघटनविरुद्ध देशभर प्रदर्शन जारी, सिंहदरबारअगाडिबाट अधिकारवादीहरु पक्राउ

हिमालय टिभी
२०७७ पुष ६ गते १४:१८
संसद विघटनविरुद्ध देशभर प्रदर्शन जारी, सिंहदरबारअगाडिबाट अधिकारवादीहरु पक्राउ

६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम भइरहेका छन् ।

हिजैदेखि विरोध प्रदर्शन शुरु भएकोमा आज देशका विभिन्न स्थानमा संसद विघटनविरुद्ध थप प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम भइरहेका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो नै सुरक्षा निकायका प्रमुखलाई भेटेर सुरक्षा व्यवस्था चुस्त बताउन निर्देशन दिइसक्नु भएको थियो । सुरक्षा सतर्कता बढाइए पनि देशभर प्रदर्शन भइरहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा हिजो राष्ट्रपति भण्डारीले संसद भंग गर्दै आगामी वैशाख १७ र २७ गते मध्यावधी चुनाव घोषणा गर्नुभएको थियो । चुनाव घोषणासँगै राजनीतिक संकट उत्पन्न भएको भन्दै सत्तारुढ नेकपाकै असन्तुष्ट पक्षसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले आन्दोलनको घोषणा गरेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीसहितका दलहरु पनि विरोधमा उत्रिएका छन् । तीन वर्ष अघि सम्पन्न चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओलीले हिजो संसद विघटनको निर्णय गर्नु भएको थियो ।

यसैबीच संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको मानवअधिकारवादीहरुको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

आज बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो ।

उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो, प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *