ओलीको कदमप्रति असहमति जनाउँदै सात जना मन्त्रीले दिए राजीनामा
५ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयमा असहमति र संसद विघटनको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव हुनुहुन्छ ।
‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै मन्त्री पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।
पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिनुभएको छैन ।
प्रतिक्रिया