राजनीति

प्रधानमन्त्रीले प्रस्ताव फिर्ता लिन गरेको आग्रह अध्यक्ष प्रचण्डद्वारा अस्वीकार (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ४ गते १५:०८
प्रधानमन्त्रीले प्रस्ताव फिर्ता लिन गरेको आग्रह अध्यक्ष प्रचण्डद्वारा अस्वीकार (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुमलटार पुगेर आफूविरुद्धको राजनीतिक प्रस्ताव फिर्ता लिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गर्नुभएको छ ।

प्रस्ताव फिर्ता लिए समस्या समाधान हुने भन्दै ओलीले प्रस्ताव फिर्ता लिएर सहमतिमा आउन आग्रह गर्नुभएको हो । तर प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गर्नुभएको छ । प्रस्तावका बारेमा पार्टी बैठकले निर्णय गर्ने प्रचण्डले जवाफ दिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रचण्डले भोलिको स्थायी कमिटी सदस्य बैठकमा भाग लिएर निकास खोज्नसमेत आग्रह गर्नुभएको छ । तर ओलीले आफू विरुद्धको प्रस्तावमा छलफल हुन नसक्ने अडान राख्नुभएको छ । पार्टी विभाजन हुन नदिने प्रयासको निरन्तरतामै दुई अध्यक्षबीच खुमलटारमा छलफल भएको तर कुनै सहमति हुन नसकेको प्रचण्डका प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो ।

प्रचण्डले कात्तिक १८ गते ओलीमाथि विभिन्न आरोप लगाउँदै १९ पन्ने राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । शुरुमा आधा घन्टा एक्लाएक्लै छलफल गरेका ओली र प्रचण्डले पछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पनि सहभागी गराउनुभएको थियो ।

प्रस्ताव फिर्ता लिन ओलीले गरेको आग्रहमा नेता गौतम मौन रहेको बुझिएको छ । ओलीसँगको भेटपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर त्यसबारे जानकारी दिनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवं पार्टी सचिवालय सदस्य रामबहादुर थापालाई आफ्नो पक्षमा मनाउने प्रयास गर्नुभएको छ ।

प्रचण्डसँग खुमलटारमा भएको भेटवार्तामा कुनै सहमति हुन नसकेपछि मन्त्री निवास पुगेर ओलीले गृहमन्त्री थापासँग भेट्नुभएको हो । भेटमा ओलीले प्रचण्डलाई समेत मनाउने गरी पहल गर्न थापालाई आग्रह गरेको बुझिएको छ ।

ओलीले थापालाई सरकार र पार्टीको समीक्षा गरी स्थायी कमिटीमा छुट्टै प्रस्ताव ल्याउन सुझाव दिनुभएको छ । आफ्नो पक्षमा तान्न ओलीले थापालाई विभिन्न आश्वासन दिइरहनुभएको छ ।

नेताहरुसँगको छलफलमा थापाले आफ्नो छुट्टै प्रस्ताव रहेको र स्थायी कमिटीमा केही सदस्य साथमा रहेको बताइरहँदा ओलीले पनि त्यस्तै खालको प्रस्ताव ल्याउन सुझाव दिनुभएको छ ।

गृहमन्त्री थापासँग छुट्टै भेटेपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापा सहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री डा. शिवमाया तुम्माहाम्फे, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्