Main News

ओम्नीले कसरी पाएको थियो स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते २०:४१
ओम्नीले कसरी पाएको थियो स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी ? (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्रीमा अनियमितता भएको निष्कर्ष निकालेको हो । ओम्नी समूहले कसरी स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको थियो ।

पोहोर माघ ९ गते पहिलो कोरोना संक्रमित भेटिएपछि नै कोरोना संक्रमण फैलिन सक्ने आँकलनसहित त्यसलाई रोक्न आवश्यक स्वास्थ्य सामग्री चाहिन्छ भनेर विज्ञहरुले भनेका थिए । तर सरकारले त्यतिबेला सामग्री खरिद गर्न कुनै चासो देखाएन ।

विश्व स्थास्थ्य संगठनले नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरे पछि मात्र सरकारले स्वास्थ्य सामग्री खरिद गर्न सक्रियता देखायो । त्यतिबेला १९ जना व्यवसायीसँग मेडिकल सामग्री खरिदका लागि कोटेसन समेत मागेको थियो ।

गनु १९ गते रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक काम गर्न सक्ने अधिकार दिँदै उच्चस्तरीय समिति गठन गरियो । समिति गठन भएसँगै कोरोना संक्रमण रोक्न खरिद गरिने मेडिकल सामानको छलफल शुरु भएको थियो ।

समितिमा मन्त्री तथा नेपाल सरकारका मुख्य सचिवहरुलाई राखियो । समितिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुनुहुन्थ्यो । समितिले आफ्नो काम शुरु गरेपनि स्वास्थ्य सामान खरिदका लागि व्यवासायीसँग मागेको कोटेसनमा भने कुनै प्रक्रिया अघि बढाएन । समितिले चैत ६ गते यो प्रक्रिया नै खारेज गर्‍यो।

तर त्यसको एक हप्ता पनि नपुग्दै सरकारले चैत ११ गतेदेखि पहिलो लकडाउनको घोषणा गर्‍यो । त्यसपछि भने स्वास्थ्य सेवा विभागले ११ गते २४ घण्टाको समय दिँदै व्यवसायीलाई छलफलमा बोलायो । छलफलमा ओम्नी सहित ६ वटा आयातकर्ता कम्पनी उपस्थित थिए।

तर उनीहरूलाई थप प्रक्रियामा सरकारले संलग्न भने गराएन । ६ वटै आयातकर्तासँग सामग्रीको मूल्यको कोटेसन मागेर स्वास्थ्य सेवा विभागले चैत १२ गते गुपचुप रुपमै स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल अर्थात ओम्नी समूहसँग १ अर्ब ३४ करोड रूपैयाँको सम्झौता गर्‍यो ।

सरकारले यसरी हतारमा निर्णय गरेर ओम्नीसँग सम्झौता गर्दा अन्य आयातकर्ताले विरोध गरेका थिए । तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने झै सरकारले कसैको कुरा नसुनी ओम्नीलाई स्वास्थ्य सामग्री ल्याउन दियो । तीन चरणमा स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको ओम्नीले पहिलो चरणमा २१ करोड रूपैयाँको सामग्री खरिद गरेर ल्यायो । तर यो पक्रियालाई विवादित देखियो ।

किनभने बजारमा ४ सय ६२ रूपैयाँ पर्ने एन नाइन्टी फाइभ मास्क ‌ओम्नीले ८ सय २८ र ४ हजारमा पाइने थर्मोमिटर ७ हजार ५ सयमा सरकारलाई बेचेको थियो ।ओम्नीसँग महँगोमा सामान किनेको भनेर सरकारको सबैतिरबाट आलोचना भयो । खरिद प्रक्रिया विवादित बनेसँगै सरकारले चैत १९ गते ओम्नीसँगको सम्झौता रद्द गरेको थियो ।

ओम्नीसँगको प्रक्रिया विवादित बनेपछि सरकारले जी टु जी प्रक्रिया भन्दै नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो । यो खरिदसमेत विवादित बनेपछि अहिले सेना समेत स्वास्थ्य सामग्री खरिदबाट पछि हटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *