Main News

उखु किसानको धर्नास्थलमै पुगे दुई जना मन्त्री, १२ दिनभित्र रकम दिलाउने प्रतिबद्धता (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १८:३५
उखु किसानको धर्नास्थलमै पुगे दुई जना मन्त्री, १२ दिनभित्र रकम दिलाउने प्रतिबद्धता (फोटो फिचरसहित)

३ पुस २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिनभित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०र१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘१०र१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराइसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पत्तिी रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामीलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताउनुभयो । सरकारको ठुलो संयन्त्र हुँदाहुँदै पनि उद्योगीहरु भागेर हिंडेको बताउँदै बरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नुपर्ने बताउनुभयो ।

सरकारले उखु किसानलाई बक्यौता रकम दिलाउन नसके नेपाली कांग्रेस पार्टी पनि उखु किसानको आन्दोलनमा समाहित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यले यथासक्य छिटो किसानको मागलाई पुरा गर्ने कुरामा ध्यान दिनुपर्‍यो । किसानका ३ वर्ष देखिको पैसा दिलाइदिनु पर्‍यो । त्यो नदिलाइदिने हो भने यो आन्दोलनमा हाम्रो पार्टी, हामी पनि उपस्थित हुन्छौँ । हाम्रो पार्टी किसानको पार्टी हो । हामी ऐक्यबद्धता जनाउन आएका हौँ । किसानले पैसा पाउनुपर्‍यो ।’

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *