राजनीति

अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ३ गते १४:४९
अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्याएको छ यो संविधानको भावना र मर्म विपरीत छ । यो संविधानको व्यवस्था र भावना, मर्म विपरीत ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्थामाथि कुनै खेलवाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ ।’

त्यसैगरी संसदको अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँडको भनाइ छ । बैठकले संसद अधिवेशन अबिलम्ब बोलाउनसमेत माग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अबिलम्ब जनताको समस्याहरुमा छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको कमीकमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशिलताका निम्ति सदनको अधिवेशन अबिलम्ब बोलाउनुपर्छ ।’

बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षसमेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणका नाममा अनियमितता गर्नेहरुलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।

प्रमुख सचेतक खाँडले भन्नुभयो – ‘कोरोना महामारी व्यवस्थापन गर्न सरकार पूर्णतः असफल भएको छ । आम नागरिकको जीवन रक्षा गर्ने सरकारको पहिलो दायित्व हो । कोरोना नियन्त्रण, व्यवस्थापन र संक्रमितको उपचारमा सरकार गम्भीर छैन, आर्थिक अनियमितता र भ्रष्टाचार गरिराखेको छ । यो अनियमितता, भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाही गरोस् ।’

यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको बताउनुभयो । उखु किसानको आन्दोलनलाई सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । ‘उखु किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । किसान प्रताडित भएर धर्ना बसिरहेका छन् । उखु किसानले गरेको आन्दोलनको समर्थन गर्दछौँ । आन्दोलनलाई सरकारले ध्यान देओस् र किसानले उखुको भुक्तानी पाउन् । सरकारले गम्भिरताका साथ प्रयत्न गरोस् ।’

बैठकले केही समयअघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दुखद् घटना भन्दै भर्त्सना गरेको छ ।

यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषी उपर कारबाही गर्न बैठकले माग गरेको छ । प्रमुख सचेतक खाँडले भन्नुभयो – ‘कुनै पनि नागरिकलाई कसै कुनै पनि बाहानामा जीवनमाथि आक्रमण गर्न पाइँदैन । हत्या, हिंसा गर्न पाइँदैन । यस्तो हिंसात्मक घटना रोकियोस् र श्रेष्ठको हत्या गर्नेलाई सरकारले कारबाहीको दायराभित्र ल्याओस् ।’

नेता खाँडले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको भन्दै निरंकुश सोँचले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्