Main News

उपत्यकासहित देशभर चिसो बढ्यो, कठ्याङ्ग्रिएर एक सातामा पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष ३ गते १३:१२
उपत्यकासहित देशभर चिसो बढ्यो, कठ्याङ्ग्रिएर एक सातामा पाँच जनाको मृत्यु

३ पुस २०७७ काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसोले कठ्याङ्ग्रिएर सिरहामा चार जना र बाजुरामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

“कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भन्नुभयो । तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

यस्तै केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताउनुभयो । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका १३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेँलले बताउनुभयो ।

त्यस्तै बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *