राजनीति

राष्ट्रपति : प्रधानमन्त्रीको लाचार छायाँ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते २०:२२
राष्ट्रपति : प्रधानमन्त्रीको लाचार छायाँ ? (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै गयो प्रधानमन्त्रीले संविधानमा भएका व्यवस्था र विद्यमान ऐन कानूनलाई आफू अनुकूल बंग्याएर विरोधी तर्साउन अध्यादेशको हतियार प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ । र, प्रधानमन्त्रीका यी काममा राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा चिम्लेर सहयोग गरिरहनु भएको छ । यसले सरकारमाथि त प्रश्न उठेकै थियो राष्ट्रको अभिभावक र संविधानको संरक्षणकर्ताको रुपमा रहनुभएकी राष्ट्रपतिमाथि नै गम्भीर नैतिक प्रश्न उठेका छन् ।

सत्तारुढ नेकपाका नेता युवराज ज्ञवालीकै भनाईले प्रष्ट हुन्छ, राष्टपति विद्यादेवी भण्डारीको भूमिका अहिले विवादास्पद छ । ज्ञवाली त्यही पार्टीको नेता हुुनुहुन्छ, जसले भण्डारीलाई मुलुकको सर्वोच्च पदमा पुरायो । तर राष्टपति भण्डारी अहिले मुलुकको राष्टाध्यक्ष होइन, नेकपाकै एउटा गुटको सहयोगी भूमिकामा हुनुहुन्छ ।

अध्यादेश जारी गर्नेदेखि नेकपाको विवादमा भूमिकाले त्यही भन्छ । त्यसो त सरकारका सिफारिस राष्ट्रपतिले जारी गर्नुपर्छ । त्यसको पनि आफ्नै प्रक्रिया र पद्धति छ। कार्यकारीले गरेका सबै निर्णय सही हुन्छन् भन्ने हुन्न । त्यसैले रोक्न नमिल्ने भए पनि त्यसको उपादेयतामाथि राष्ट्रपतिले प्रश्न उठाउन सक्नुपर्थ्यो । तर राष्ट्रपति भण्डारीले त्यसो गर्नुभएको छैन । अर्थात राष्टपतिले भूमिका सही ढंगले निर्वाह गर्नुभएको छैन ।

सत्तारुढ नेकपाको आन्तरिक विवादमा राष्टपति भण्डारीले सक्रिय रुपमा ओलीका पक्षमा भूमिका निर्वाह गरिरहनुभएको छ । त्यसको असर उहाँले निर्वाह गर्नुपर्ने संवैधानिक दायित्व निर्वाहमा पनि देखिएको छ । गत वैशाख र पछिल्लो अध्यादेश जारी प्रकरण त्यसैको उदाहरण हो । सरकारले सिफारिस गर्ने र राष्टपति भण्डारीले आँखा चिम्लेर जारी गर्ने काम भैरहेको छ । राष्ट्रपतिको यस्तो गैरजिम्मेवार कार्यशैलीले संविधानमाथि ठूलो संकट आइपर्ने कानूनविद्को चिन्ता छ ।

नेपालको संविधानको धारा ६१ को उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ, र हुनुपर्ने पनि त्यही हो । तर राष्टपति विद्यादेवी भण्डारी मुलुकको राष्ट्राध्यक्ष होइन कुनै पार्टी र त्यसमा पनि कुनै गुटको नेता वा सहयोगी जस्तो मात्र देखिनुभएको छ । र, यसले उहाँमाथिको विश्वास घटाउँदै लगेको छ ।

संवैधानिक राष्टपतिको भूमिकामा प्रश्न उठ्नु राम्रो होइन । तर स्थिति यस्तो आउन थालिसक्यो कि अब राष्टपति भण्डारी त्यो पदमा बस्न सुहाउँछ कि सुहाउन्न भन्ने बहस चलिरहेको छ । कतिपय राजनीतिक दलका नेताले यस्तो गरेर पदमा बस्न मिल्दैन भनेर आवाज उठाउन थालेका छन ।

त्यसो त दलीय व्यवस्था भएका मुलुकमा संविधानले परिकल्पना गरे बमोजिम स्वतन्त्र रहिरहन सधैं सम्भव नहुन सक्छ । आस्थाले स्वतन्त्रताको तराजुमा हलचल ल्याउँछ । तर जुन संविधानको शपथ लिएर राष्ट्रप्रमुखको पदमा विराजमान भएको त्यही संविधानमाथि जालझेल हुँदा त्यसको साक्षी बस्ने कुरा भने शोभनीय हुन्न । त्यसैले गल्तीबाट राष्टपतिले सिक्नु र आफ्नो भूमिकालाई न्याय गर्न सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्