Main News

चिनी मिल सञ्चालकले मागे समय, किसानको पैसा नदिए कारबाही गर्ने सरकारको चेतावनी

हिमालय टिभी
२०७७ मंसिर ३० गते १८:३१
चिनी मिल सञ्चालकले मागे समय, किसानको पैसा नदिए कारबाही गर्ने सरकारको चेतावनी

३० मंसिर, २०७७ काठमाडौं । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ ।

मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताउनुभएको हो ।

उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अध्यक्षलाई हामीले भन्यौं तपाईहरुको उद्योग हाम्रो मन्त्रालयअन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन् । किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस, उद्योगीहरुसँग कुरा गर्नुहोस होइन भने नेपाल सरकार प्रचलित कानून बमोजिम जान्छ भन्यौं ।’

प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशील भएको पनि बताउनुभयो । किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरि पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले हदैसम्मको कारबाही गरेर भए पनि किसानलाई पैसा दिलाउने कुरा राख्नुभएको बताउनुभयो । आफुले भने फेरि एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताउनुभयो ।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबारयता काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकाले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *