पशुपतिमा आज क्षमा पूजा, भोलिदेखि भक्तजनले दर्शन गर्न पाउने

३० मंसिर, २०७७ काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न आज बिहान क्षमा पूजा हुने भएको छ ।
प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।
पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर भोलिदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराएर दर्शन गराइ त्यही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।
्मन्दिर भोलिदेखि खुले पनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।
लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।
प्रतिक्रिया