Main News

सिक्टा सिंचाइ आयोजना: १४ अर्ब लागत र ७ वर्ष समय, थप्ने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते ६:१३
सिक्टा सिंचाइ आयोजना: १४ अर्ब लागत र ७ वर्ष समय, थप्ने तयारी (भिडियोसहित)

२९ मंसिर, २०७७ नेपालगञ्ज । लक्ष्य अनुसार काम हुन नसक्दा बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सि‌ंचाइ आयोजनाको लागत र समय बढ्दै गएको छ । दोस्रो पटक गुरु योजना संशोधन गरेर थप १४ अर्ब रुपैयाँ लागत र ७ वर्ष समय बढाउने तयारी गरिएको छ ।

बाँकेको करिव ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले १४ वर्ष अघि सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य सुरु भएको थियो । आयोजना सुरु गर्दा १२ अर्व ८० करोड रुपैयाँ लाग्ने अनुमान थियो र आयोजना २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो । तर लक्ष्य अनुसार काम हुन सकेन ।

त्यसैले २०७१ सालमा पहिलो पटक गुरु योजना शंसोधन गरेर १२ अर्ब ८० करोड लागत बढाएर करिब २५ अर्ब २ करोड पुराइयो । निर्माण सम्पन्न गर्ने समय ६ वर्ष थपेर आर्थिक वर्ष २०७६–२०७७ सम्म पुरा गर्ने लक्ष्य राखियो । पहिलो पटक संशोधन गरिएको गुरु योजना अनुसार पनि काम हुन सकेन ।

निर्माण सम्पन्न हुनु पर्ने समयसम्म थप ४ अर्व २० करोड खर्च भएर लागत १७ अर्ब पुग्यो । तर काम भने करिव ६५ प्रतिशत मात्रै पूरा भयो । त्यसपछि दोस्रो पटक गुरु योजना शंसोधन गरेर ३९ अर्वको लागतमा २०८५–०८६ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रस्ताबित दोस्रो गुरुयोजना पास हुने अन्तिम चरणमा छ । यही विषयमा नेपालगञ्जमा सरोकारवालासँग छलफल भयो ।

सिक्टाको नहर निर्माणमा लागत र समय बढेको बढै गरे पनि प्रतिफल भने निक्कै कम प्राप्त भएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्ने दक्ष जनशक्ति नहुँदा काम निक्कै सुस्त गतिमा भइरहेको छ । सिंचाइ उपभोक्ता छिटो काम सम्पन्न गर्न ताकेता गरेका गर्‍यै छन ।

घुलनशील माटोको कारण नहर भत्कने समस्यादेखि अख्तियारद्वारा गरिएको छानबिन र मुद्दा मामिलाका कारण समस्याग्रस्त भइरहेको आयोजनालाई मर्मत गरी किसानको खेतबारीसम्म जसोतसो पानी पुर्‍याइएको छ । तमाम समस्यालाई समाधान गर्दै नयाँ गुरु योजना अनुसार अगाडि बढाएर किसानको खेतबारीसम्म भरपर्दो सिंचाइ सुविधा पुराउने सम्बन्धित मन्त्रीको प्रतिबद्धता छ ।

सिक्टाको मूल नहरबाट किसानको खेतसम्म पानी पुराउनका लागि ७ वटा शाखा र ५० वटा उप शाखा गरेर करिब १ सय किलोमिटर नहर निर्माणको काम भई रहेको छ । मुल नहरमा पानी संचालन गरेर आयोजनाले गहु तथा तोरी खेतीका लागि करिब २० हजार हेक्टरमा सिंचाइ सुबिधा पुर्‍यारहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *