Main News

उखु किसान एकवर्ष पछि फेरि आन्दोलनमा : सरकारमाथि प्रश्नै प्रश्न (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २८ गते २०:४६
उखु किसान एकवर्ष पछि फेरि आन्दोलनमा : सरकारमाथि प्रश्नै प्रश्न (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । उखु बेचेको पैसा नपाएपछि सर्लाहीका २ सय उखु किसानले पोहोर पुसमा काठमाडौं आएर आन्दोलन गरे । माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाइ छाड्ने भनेर किसानसँग सरकारले सहमति गर्‍यो । त्यसपछि आन्दोलन फिर्ता लिएर किसान घर फर्किए । तर भाखा नाघेको १० महिना बित्दा पनि किसानले उखुको पैसा पाएका छैनन् । त्यसैले उनीहरु फेरि काठमाडौं आएका छन् ।

उखुबाट चिनी बन्छ चिनी गुलियो
माफियाको गुलियोमा सरकार भुलियो

यो नारा सरकार विरोधी कुनै दल वा समूहको होइन । प्लेकार्डमा लेखिएको यो नारा कृषि प्रधान देश नेपालका किसानको हो । सरकार विरोधी प्रदर्शन उनीहरुको रहर होइन, बाध्यता हो । मिल मालिकले उखुको पैसा नदिएपछि पोहोर काठमाडौंमा आएर गुहार मागेका किसानले न्याय पाएनन, त्यसैले एक वर्षपछि फेरि माइतीघर मण्डलामा आउन बाध्य भए ।

सरकारले पैसा दिलाइदिन्छौं भन्यो, तर बाचा पुरा गरेन । त्यसैले उनीहरुलाई लागेको छ– सरकार माफियाको गुलियोमा भुल्यो र किसान बिर्सियो । त्यसैले किसानले अर्को नारा पनि बनाएका छन, जहाँ उनीहरुलाई सरकार आफ्नो लागेको छैन, किनकी सरकार कृषिमा जोड दिन्छु भन्छ तर किसान त्यहाँ अटाएका छैनन ।

सानै छ खेत सानै छ बारी सानै छ जहान
सानो छ देश ठूलो छ सरकार अटेन किसान

यसरी कालो ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गर्ने तिनै किसान हुन्, जसले दुःख गरेर र पसिना बगाएर उब्जाएको उखुको पैसा पाएका छैनन् । पोहोर माघ १६ गतेभित्र चिनी मिलबाट पैसा दिलाउने भन्दै पुस १६ गते सरकारले यिनै किसानसँग सम्झौता गरेको थियो । तर सरकारले तोकेको भाखा नाघेर १० महिना बित्दा पनि किसानले पैसा पाएनन । त्यसैले उनीहरु अब पैसा लिएर घर फर्कने भन्दै सर्लाहीबाट आन्दोलन गर्न काठमाडौं आएका छन।

उखु मिलबाट पैसा दिलाइदिन माग गर्दै उखु किसान काठमाडौं धाएको र प्रदर्शन गरेको यो पहिलोपल्ट हैन । उखुको पैसा पाउन उनीहरुले पटकपटक मन्त्री, नेता, चिनी मिल मालिकसँग हात जोडिरहनु परेको छ । पोहोर पुसमा काठमाडौं आएर उनीहरुले आन्दोलन गरे ।

माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाइ छाड्ने भनेर किसानसँग उद्योगमन्त्री लेखराज भट्टले नै वाचा गर्नुभयो । र मन्त्रीको वाचा अनुसार पैसा पाइएला भनेर सहमति गर्दै किसानले आन्दोलन फिर्ता लिए र घर फर्किए । तर पैसा पाएनन् । त्यसपछि उनीहरु चैतमा फेरि काठमाडौं आएका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले किसानलाई आफूहरुको ध्यान कोरोना भाइरस रोकथाममा केन्द्रित रहेको र केही समयभित्र पैसा दिलाइछाड्ने भन्दै आन्दोलन नगर्न आग्रह गरे । त्यो आग्रहकै आधारमा किसान चैतमा घर फर्किएका थिए । तर किसानसँगको बाचा सरकारले बिर्सियो । पैसा पाएनन् । त्यसैले उनीहरु गएको महिनापनि काठमाडौं आएका थिए । त्यतिखेर छठसम्मको म्याद राखेर फर्केका किसानसँग आश्वासन दिने तर कार्यान्वयन नगर्ने सरकारसँग प्रश्नै प्रश्न छन् ।

सरकारको नारा छ समृद्ध नेपाल सुखी नेपाली । तर किसानलाई सरकार त्यो दिशामा अघि बढेको छ भन्ने लागेको छैन, किसानलाई छोडेर कसरी समृद्धि हुन्छ भन्ने उनीहरुको प्रश्न छ । समृद्ध किसान भए मात्रै समृद्ध नेपाल हुन्छ भन्ने उनीहरुको सरकारलाई सन्देश छ ।

सर्लाहीका किसानले मात्र हैन उखु खेती गरेका अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० करोड दिन बाँकी छ । यस्तै श्रीराम चिनी मिलले ३८ करोड, महालक्ष्मी, इन्दिरा र लुम्बिनीले ५–५ करोड रुपैयाँ उखुको पैसा तिरेका छैनन् ।

उखु बेचेर आएको पैसाबाट दैनिक गुजारा चलाउनुपर्ने किसान त्यही पैसा नपाएपछि समस्यामा परेका छन् । खेतीका लागि लिएको ऋण तिर्न घर खेत बेच्नु पर्ने अवस्था छ । गुलियो उखु उब्जाउने किसान उखुको पैसा लिन नुनिलो आँसु झार्दै यसरी प्रदर्शनमा उत्रिनु परेको छ। आफूलाई गरिब र सर्वहारा वर्गको प्रतिनिधि मान्ने नेकपा सरकारका लागि यो भन्दा लज्जाको विषय अरु के होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *