२८ मंसिर, २०७७ काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्नेतलाई थुनामा पठाउने आदेश दिएको हो ।
बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।
अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन। सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको, नेपाल सरकारई हानी पुर्याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी बस्न्यातमाथि अभियोग छ ।
बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। त्यतिबेलाको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो।
त्यही रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ। साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महीनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ।