काठमाडौं महानगरपालिकाले भोलि २६औं महानगर दिवस मनाउने
२८ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २६ औं महानगर दिवस मनाउने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गरी महानगर दिवस मनाउन लागेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउँदै आएको छ । महानगर दिवसको अवसर पारेर यो पटक ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताउनुभयो ।
महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूह, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका बुजाका गुरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ।
यस्तै पहिलो जननिर्वाचित मेयर स्वर्गिय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ । सेवा प्रवाहमा खटिरहेका पाँच जना जनप्रतिनिधि र पाँच जना कर्मचारीहरुलाई पनि सम्मान गरिने छ ।
यस बाहेक १० जना कर्मचारीहरुलाई उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको पनि महानगरपालिकाले जनाएको छ ।
यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका १० जना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया