Main News

प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा

हिमालय टिभी
२०७७ मंसिर २७ गते १८:४६
प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा

२७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा परेको छ ।

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समेत छलफल नगरी परिषदका अध्यक्ष ओलीले बैठक बोलाएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

विपक्षी दलका नेता शेरबहादुर देउवाले भोलि बैठकमा उपस्थित नहुने जानकारी दिइसक्नुभएको छ भने सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको पनि भोलि बिहान कार्यक्रम रहेकाले जाने–नजाने अन्यौल छ । तर अहिलेसम्म बैठक सार्ने कुनै योजना नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान नौ बजेका लागि परिषदको बैठक बोलाउनुभएको छ भने साढे ८ बजे संसदको व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।

व्यवस्थापन समितिको बैठक प्रधानमन्त्रीले परिषद बैठक बोलाउनु अघि नै तय गरिएको सभामुखको सचिवालयले जनाएको छ । संसदको कार्यकारी भूमिका रहने व्यवस्थापन समितिमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष रहने र सभामुखको अध्यक्षतामा बैठक बस्ने व्यवस्था भएकाले सभामुख र राष्ट्रिय सभाका अध्यक्षको उपस्थिति अन्यौलपूर्ण बनेको हो ।

तर प्रमुख प्रतिपक्षी दलका नेताले नै बैठकमा उपस्थित नहुने बताएकाले सभामुख सापकोटा र राष्ट्रिय सभा अध्यक्ष बैठक नबस्ने विश्वासमा रहेको बुझिएको छ । परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष, प्रतिपक्षी दलका नेता, प्रधानन्यायधीश, सभामुख र उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष पदेन सदस्य हुन्छन्।

६ सदस्यीय परिषद्‍मा उपसभामुख एक जना भने रिक्त छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन ।

एक वर्षदेखि संवैधानिक परिषद्‍को बैठक बस्न सकेको छैन। नयाँ संविधानले संवैधानिक मान्यता दिलाएका दर्जनभन्दा बढी नयाँ आयोगमा पाँच वर्षसम्म पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ती पदमा नियुक्तिका लागि सिफारिश गर्न संवैधानिक परिषद् डाकिएको हो। तर भोलिको बैठक पनि अन्यौलमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *