Main News

तराईको ‘लाइफ लाइन’ हुलाकी राजमार्गः पूर्वपश्चिम राजमार्ग निर्माणले लियो गति (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २७ गते १४:४९
तराईको ‘लाइफ लाइन’ हुलाकी राजमार्गः पूर्वपश्चिम राजमार्ग निर्माणले लियो गति (भिडियोसहित)

२७ मंसिर, २०७७ विराटनगर । तराईका जिल्ला जोड्ने ‘लाइफ लाइन’का रुपमा परिभाषित हुलाकी राजमार्गअन्तर्गत पूर्वपश्चिम राजमार्ग निर्माणको कामले गति पाएको छ। २०६२–०६३ सालबाट शुरु गरिएको राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो ।

हुलाकी राजमार्गको सप्तरीदेखि झापासम्मको २ सय २५ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइसकेको छ । धेरै स्थानमा ठेक्का लागेर सडक चौडा पर्ने कामदेखि पुल निर्माणको काम पनि चलिरहेको छ । यसले हुलाकी मार्ग निर्माण सम्पन्न भई चाँडै सञ्चालनमा आउने स्थानीयमा आशा जगाइदिएको छ ।

झापा, मोरङ, सुनसरी र सप्तरी हुलाकी मार्गको सडक एकातिर बन्दै गर्दा अर्कोतिर भत्किँदै जाने अवस्था थियो । तर अहिले विराटनगरदेखि झापाको भद्रपुरसम्म जोड्ने सडकको रंगेली खण्ड विस्तारको काम राम्रोसँग चलिरहेको छ ।

लामो समयदेखि चर्चामा रहेको हुलाकी सडकअन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा सदरमुकाम भद्रपुरसम्म चारपाङ्ग्रे सवारी साधान चल्ने अवस्थामा पुगेको छ ।

झापा र मोरङको सिमाना भएर बग्ने रतुवा नदीमा गएको वर्ष हुलाकी राजमार्गमा पुल निर्माण भएसँगै यही वर्षदेखि चारपाङ्ग्रे सवारी साधन चल्ने अवस्था आएको हो । जसका कारण स्थानीय बासिन्दालाई पनि आवतजावतमा सहज भएको छ ।

हुलाकी राजमार्ग निर्माणको कामका लागि यो वर्ष झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाको धेरै स्थानमा नयाँ ठेक्का लागेर काम भइरहेको छ । ठेक्का लागेर काम अघि बढेका धेरै स्थानमा सडक कालोपत्रे हुने क्रममा छन् । यो वर्ष निर्माणको कामले लिएको गतिसँगै चालु आर्थिक वर्षमा पूर्वका ४ जिल्लामा सडक स्तरोन्नतिको काममा भौतिक प्रगति ५५ प्रतिशत छ । आयोजनाले चार जिल्लामा लागेको ठेक्काको सम्पूर्ण काम २०७७ सालभित्र सक्ने लक्ष्यका साथ निर्माणको काम गरिरहेको छ ।

हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिंक रोडसमेत गरी चार जिल्ला झापा, मोरङ, सुनसरी र सप्तरीमा गरी कुल २ सय ९५ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *