कलंकी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, सात जनाको उपचार हुँदै
२७ मंसिर, २०७७ काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको छ।
घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको हो । एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो । चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।
उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार भइरहेको छ । हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्कीस्थित कालिका पेट्रोल पम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।
परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ट्रक ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । ट्रकले स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमासमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।दुर्घटनाका कारण घरभित्रसमेत क्षति पुर्याएको विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया