राजनीति

‘बहुमत–अल्पमत मान्दिनँ’ भन्दै बहुमत जुटाउने प्रयासमा ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २६ गते २०:२१
‘बहुमत–अल्पमत मान्दिनँ’  भन्दै बहुमत जुटाउने प्रयासमा ओली (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । प्रधामन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानको लागि बहुमतको निर्णय नमान्ने र दुवै पदबाट राजीनामा नदिने अडान पटकपटक राख्दै आउनुभएको छ ।

अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बहुमतले कुनै निर्णय गरे वैधानिकता नदिने चेतावनीसमेत दिइरहनुभएको छ । पार्टीका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओली भने आफै बहुमतको खेलमा लाग्नुभएको छ । आफ्नो पक्षमा बहुमत पुर्‍याउन कहिले कार्यकारी अध्यक्ष प्रचण्डलाई त कहिले वरिष्ठ नेता नेपाललाई फकाइरहनुभएको छ ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि सहमति एक मात्रै विकल्प भएको बताउँदै आउनुभएको छ । बहुमत अल्पमत मान्दिनँ भन्नुभएको छ । पार्टीका बैठकमा पेश गरेको दस्तावेजमा पनि ओलीले यसबारे आफ्नो प्रष्ट मत राख्नुभएको छ ।

त्यति मात्रै होइन, बहुमत अल्पमत भए एकता भंग हुनेसमेत ओलीको चेतावनी छ । तर पार्टी सचिवालय र स्थायी कमिटीमा अल्पमतमा परेका ओलीले बाहिरबाहिर सहमतिमा जोड दिए पनि भित्रभित्रै बहुमतका लागि प्रयास गरिरहनुभएको छ । सचिवालयमा रहेका शीर्ष नेताहरुलाई ओलीले गरेको प्रयासले त्यसलाई पुष्टि गर्छ ।

प्रचण्डलाई मनाउने प्रयास र पार्टीभित्रको गणित
पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले मंगलबार प्रचण्डसँगको भेटमा हामी मिलौं, माधव नेपालसँगको सहकार्य तोड्नुस भनेर प्रस्ताव गर्नुभयो । ओलीले प्रचण्डलाई पहिलेदेखि नै महाधिवेशनबाट अध्यक्ष र अर्को चुनावबाट प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै आउनुभएको हो ।

ओलीको तर्फबाट आगामी प्रचण्डसँग मिलौं भन्ने प्रस्ताव दुई अध्यक्ष मिले समस्या समाधान हुने र विधि विधान पनि त्यसै अनुसारको रहेकाले सहमतिको व्याख्या पनि हुने देखिन्छ । तर यसका पछाडि ओली र प्रचण्ड मिल्दाको अंक गणितले काम गरेको छ । किनकी ओली र प्रचण्ड मिल्दा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुग्छ । त्यसैले ओलीको प्रस्तावको अन्तर्यमा बहुमत जुटाउने योजना देखिन्छ ।

वरिष्ठ नेता नेपाललाई दिएको अफर
ओलीले प्रचण्डलाई मात्रै होइन, वरिष्ठ नेता नेपाललाई पनि पटक–पटक सहकार्यको प्रस्ताव गर्नुभएको छ । प्रचण्डलाई जस्तै नेपाललाई पनि ओलीले महाधिवेशनबाट अध्यक्ष र चुनावबाट प्रधानमन्त्री बन्नोस् भन्नुभएको छ । त्यति मात्रै होइन, प्रचण्डसँग बलियो गठबन्धन बनाएका नेपाललाई पूर्व एमालेएमाले मिलौं भन्न समेत भ्याउनुभएको छ । त्यसका पार्टीको संयोजक बन्न र महाधिवेशनपछि आफू निकट व्यक्तिलाई महासचिव बनाएर नेतृत्व लिनसमेत प्रस्ताव गर्नुभएको छ ।

दुई अध्यक्ष मिले मात्रै पार्टी अघि बढ्ने र त्यो सहमति हुने भनिरहेका ओलीले नेपाललाई गरेको प्रस्तावको प्रष्ट उद्देश्य पार्टी कमिटीमा बहुमत पुर्‍याउनु नै हो । माधवकुमार नेपाल ओलीको साथमा लागे सचिवालयमा पूर्वएमाले मिल्दा बहुमत पुग्ने देखिन्छ र त्यो स्थायी कमिटमा पनि पुग्छ । त्यसैले सहमति सहमति भने पनि ओलीले नेपाललाई गरेको प्रस्तावले बहुमत जुटाउन खोजेको प्रष्टै हुन्छ ।

वामदेव र थापालाई गरेको प्रस्ताव
यसै हप्ता ओलीले वामदेव गौतम र रामबहादुर थापालाई चुनावी सरकारको प्रधानमन्त्री बन्न अफर गरेको सूचना बाहिरियो । गौतमलाई त पहिलेदेखि नै ओलीले फकाउने कोशिस गर्नुभएको थियो, पछिल्लो पटक थापालाई समेत पदको अफर गर्नुभएको चर्चा छ । गौतमले क्याम्प फेर्दा पहिले अल्पमतमा रहेको स्थिति उल्ट्याएका ओलीले अहिले पनि त्यो प्रयास गर्नुभएको छ । प्रचण्ड–नेपालको क्याम्पमा रहेका गौतम र अहिलेसम्म खासै नखुलेका थापाको साथ पाए ओली सचिवालयमा बहुमतमा पुग्नुहुन्छ । गौतम र थापालाई फकाउने प्रयासको उद्देश्य बहुमत पुर्‍याउने र आफू बलियो हुने बाहेक केही देखिन्न ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको गणित
ओली अहिले सचिवालयमा प्रष्ट रुपमै अल्पमतमा हुनुहुन्छ । तर ओलीले बहुमत र अल्पमत मान्दिनँ सहमति हुनुपर्छ भनिरहनुभएको छ । तर पहिले बहुमतकै आधारमा निर्णय गरेका ओली अहिले अल्पमतमा परेपछि सहमतिको नारा लगाएको प्रचण्ड–नेपालपक्षको आरोप छ । नौ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल पक्ष बहुमतमा छ । प्रचण्ड–नेपालका पक्षमा पाँच जना छन् । ओली क्याम्पमा ओली सहित ईश्वर पोखरेल र विष्णु पौडेल हुनुहुन्छ भने रामबहादुर थापा अझै प्रष्ट रुपमा खुल्नुभएको छैन ।

यस्तै स्थायी कमिटीमा ओलीका पक्षमा १३, प्रचण्डका पक्षमा १७ र नेपालका पक्षमा १३ जना छन् । त्यस्तैगरी केन्द्रीय कमिटीमा ओली पक्षका १ सय ४०, प्रचण्ड पक्षका १ सय ८३ र नेपाल पक्षका १ सय १४ जना छन् । १ सय ७४ सदस्यीय संसदीय दलमा ओलीका ७८ प्रचण्डका ५३ र नेपालका ४३ जना सांसद् छन् । अर्थात पार्टी यी संरचनामा पनि प्रचण्ड नेपाल पक्ष स्थायी कमिटीमा पनि बहुमतमा छ । तर बहुमत जुटाउन ओलीले गरेको प्रयास सफल भए यो समीकरण फेरिनेछ ।

पहिले पनि भएको थियो बहुमतबाट निर्णय
सत्तारुढ नेकपाको विधानले सहमतिमा जोड दिएपनि पटकपटक बहुमतबाट निर्णय भएका छन, अर्थात सबै निर्णय सर्वसम्मति वा सहमतिबाट भएका छैनन् । वरिष्ठ नेता माधवकुमार नेपालले तीन पटकसम्म सचिवालयमा नोट अफ डिसेन्ट लेख्नुभएको छ । पार्टी सचिवालयले निर्णय गरेपनि नेपालले प्रदेश इन्चार्ज र पदाधिकारी छनोट, जनवर्गीय संगठनमा जिम्मेवारी बाँडफाँड र प्रदेश प्रमुख नियुक्तिमा लिखित असहमति राख्नुभएको थियो । त्यसैले सहमतिमै जोड दिए पनि ओलीले आन्तरिक रुपमा सकेसम्म आफ्नो पक्षमा बहुमत पुर्‍याउने कोशिस गर्नुभएको छ । पार्टीभित्र अहिले अल्पमत बहुमत मान्दिनँ भनेपनि घट्नाक्रम र ओलीको प्रयासले त्यसलाई पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्