Main News

गरिबको पीडा : डोजरले टहरो भत्काएपछि ७ जनाको परिवार विचल्ली (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:४३
गरिबको पीडा : डोजरले टहरो भत्काएपछि ७ जनाको परिवार विचल्ली (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । कैलालीको धनगढीमा उपमहानगरपालिकाले एक जना सुकुम्बासी परिवारको घर भत्काइदिएको छ । जसले गर्दा ७ जनाको परिवार अहिले खुला आकाशमुनि रात काट्न बाध्य छ ।

नरुदेवी बोहराको परिवार १२ वर्षदेखि धनगढी बजारको पुल नजिक ऐलानी जग्गामा काठको कटेरो बनाएर बस्दै आएको थियो ।
तर अहिले नगरपालिकाले यो कटेरो भत्काएको छ । कटेरो भत्काएपछि नगरपालिकाले भाडा तिरेमा अर्को ठाउँमा बस्न दिने भनेको थियो । तर यो परिवारसँग भाडा तिर्ने क्षमता नै छैन । २ वर्षे बालिकासहित ६ जनाको परिवार चिसोमा खुल्ला आकाशमुनि बसिरहेको छ ।

माओवादी द्वन्द्वका क्रममा यो परिवार २०६० सालमा डोटीबाट विस्थापित भएको हो । धनगढीमा आएर पनि निक्कै दुख र हण्डर खाएर यो परिवारले १२ वर्षअघि खोला किनारको ऐलानी जग्गामा बास पाएको थियो । ऐलानी जग्गा भए पनि यो परिवारले यहीका व्यवसायी उज्वल पनेरुलाई मासिक भाडा तिर्दै आएको थियो । तर पछि यो परिवारले भाडा तिर्न छाड्यो र सँगैको खाली ठाउँमा आफ्नै टहरो बनायो ।

भाडा तिर्न नसकेपछि उज्वलसँग झगडा पर्‍यो । त्यही निहुँमा घरका जेष्ठ सदस्य पदमबहादुर थुनामा नै पुग्नुपर्‍यो । पैसा तिरून्जेल बस्न पाएको तर भाडा तिर्न छाडेपछि उज्वलकै उक्साहटमा नगरपालिकाले उठिबास लगाएको पिडीतको आरोप छ । ऐलानी जग्गामा अरुले पनि पक्कि संरचना बनाएका छन् । तर नगरपालिकाले अरुलाई छोएको छैन । आफ्नो कटेरो मात्रै भत्काएकोमा वोहरा परिवारको चित्त दुखेको छ ।

सरकारी निकायले गरिव र पहुँचवालालाई छुन सक्दैनन् । तर यस्ता गरिब परिवारको कटेरो समेत छाड्दैनन् । आलोचना बढेपछि धनगढी उपमहानगरपालिकाले यो परिवारलाई केही समयका लागि तरकारी हाट बजारमा बस्न दिने जनाएको छ । तर यो घटनाले राज्यको विभेद भने छर्लंङ्ग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *