Main News

सरकारकै कारण भ्रष्टाचार मौलाएको सुशासन विज्ञको निष्कर्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:३६
सरकारकै कारण भ्रष्टाचार मौलाएको सुशासन विज्ञको निष्कर्ष (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बारम्बार भ्रष्टाचारीको मुख नहेर्ने बताउँदै आउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशिल रहेको दोहोर्‍याउनु भएको छ ।

तर प्रधानमन्त्री ओलीको भनाइ र गराइमा ठुलो भिन्नता देखिएको आरोप लागिरहेको छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाइसक्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले निकालेको प्रतिवेदनले पनि यो आरोपलाई बल पुगेको छ । तर प्रधानमन्त्री यो स्वीकार्न तयार हुनुहुन्न बरु केही संस्था सरकारको बदनाम गर्न लागिरहेको दाबी गर्नुहुन्छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आउनुभएको छ– म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ । आफू भ्रष्टाचार निमिट्यान्न पार्न लागिरहेको उहाँको दावी छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा पनि प्रधानमन्त्री ओलीले त्यसलाई दोहोर्‍याउनुभयो ।

तर प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दोहोर्‍याइरहे पनि स्वंय उहाँ नै भ्रष्टाचारलाई बढावा दिन लागिपरेको आरोप छ । भ्रष्टाचार विरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले एशियामध्ये सबैभन्दा धेरै भ्रष्टाचार नेपालमै बढेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यति मात्र हैन् प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै तोकेर भ्रष्टाचारका आरोपितको बचाउमा उत्रिने गरेको उल्लेख गरेको छ । तर प्रधानमन्त्रीलाई भने यस्ता संस्थाका प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित छन् भन्ने लागीरहेको छ ।

विपक्षी मात्र होइन प्रधानमन्त्रीकै दलका अध्यक्षले नै ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण दिएको गम्भीर आरोप लगाइसक्नुभएको छ । प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले पनि वाइवबडी, बालुवाटार जग्गा प्रकरण, यती समूह‍को पक्षपोषण र औषधी खरिद प्रकरण जस्ता विषय उठाएर सरकारमाथि निशाना साँधिरहेको छ । सुशासनका क्षेत्रमा काम गरिरहेका विज्ञको पनि सरकारकै कारण भ्रष्टाचार बढेको मत छ ।

७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक हुँदा पनि तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गर्नु, यति र ओम्नीसँगको रहस्यमय साँठगाँठ, औषधि खरिद प्रकरणको छानविन नगरिनु जस्ता विषयले सरकार माथि नै प्रश्न उठाइरहेको छ । त्यसैले सरकार र राजनैतिक दलका नेता नसुध्रिएसम्म भ्रष्टाचार नघट्ने विज्ञको विश्लेषण छ ।

उसो त भ्रष्टाचारको अनुसन्धान गर्न र मुद्दा चलाउन संवैधानिक आयोग अख्तियार छ । तर आयोग सानातिना घटनामा अल्झिएर ठुलालाई बचाउन मै केन्द्रीत रहेको र सत्ता शक्तिका अगाडि लाचार बनिरहेको आरोप लागेको छ । विज्ञले भने झैं नेपालमा भ्रष्टाचारको मूल राजनीति हो । भ्रष्टाचारीको संरक्षण गर्ने सरकार र नेता नसुध्रिएसम्म जति नै भाषण गरे पनि भ्रष्टाचार नियन्त्रण हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *