२४ मंसिर, २०७७ काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहको प्रतिबन्धित नेकपा व्यक्ति हत्यामा उत्रिएको छ । विप्लव नेकपाले मोरङको मिक्लाजुङ गाउँपालिका १ निवासी स्थानीय सरस्वती आधारभूत विद्यालका शिक्षक राजेन्द्र श्रेष्ठको विभत्स हत्या गरेको स्वीकार गरेको हो ।
विप्लव नेतृत्वको नेकपाको मेची कोशी ब्यूरोले हत्याको जिम्मेवारी लिएको छ। व्यूरो इन्चार्ज प्रतापले मंगलबार एक विज्ञप्ति निकालेर आफूहरुविरुद्ध सुराकी गर्दै आएकाले हत्या गर्नु परेको जनाएका छन्।
प्रधानाध्यापक श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी बैठकका क्रममा प्रहरी बोलाएर दमन गराउन भूमिका खेलेको आरोप विप्लव समूहले लगाएको छ। इन्चार्ज प्रतापले आफूहरुद्वारा गठित सेनाविरुद्ध पनि सशस्त्र प्रहरी लगाएर सर्च अपरेसन चलाएको आरोप प्रधानाध्यापक श्रेष्ठमाथि लगाएका छन्।
उनले सम्झाउने क्रममा हतियारसहित आक्रमण गरेकाले प्रतिकारका क्रममा शिक्षक श्रेठको ज्यान गएको बताएका छन् । तर श्रेष्ठलाई गोली हानी घाँटी रेटेर हत्या गरिएको छ ।
श्रेष्ठको शव घरबाट करिब २ किलोमिटर पर बर्खेको जंगलमा भेटिएको थियो। हिजो बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरेर लगेका थिए।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले ०७५ साल फागुन २८ गतेदेखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ । यसअघि विभिन्न ठाउँमा बम विस्फोटलगायत घटना गरेको भए पनि विप्लव माओवादीले व्यक्ति हत्या पहिलोपटक गरेको हो ।