राजनीति

दलहरुले प्रधानमन्त्रीलाई भने –’तपाइँकै कारण राजतन्त्रका पक्षमा जुलुस निस्कियो,सच्चिनुस्’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते २०:५८
दलहरुले प्रधानमन्त्रीलाई भने –’तपाइँकै कारण राजतन्त्रका पक्षमा जुलुस निस्कियो,सच्चिनुस्’ (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सरकारकै कारण जनतामा असन्तुष्टि बढ्दै गएको र राजतन्त्रका पक्षमा जुलुस निस्केको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उनीहरुले यसमा सरकारलाई जिम्मेवार ठहर गर्दै सच्चिन सुझाव दिएका छन् । सरकारले राम्रो काम नगर्दा जनता व्यवस्थाकै विकल्पमा सडकमा उत्रिएको भन्दै उनीहरुले जनताका समस्या सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । तर उनीहरुले संविधान र व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै राजतन्त्र पुनर्स्थापनाको मागलाई अस्वीकार गरेका छन ।

देशभर राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनुभयो । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलले यो बैठकमा सडकमा भैरहेको आन्दोलनको मागलाई अस्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति ऐक्यबद्धता जनाए । तर अहिले देशमा जे भैरहेको छ, त्यो सबै सरकारका कारण हो भन्ने निष्कर्ष पनि प्रधानमन्त्रीलाई सुनाए । सडकमा असन्तुष्टिका स्वर सुनिनु र जनता व्यवस्थाकै विरोधमा उत्रिनुका पछाडि सरकारी कार्यशैली नै कारक रहेको भन्दै उनीहरुले सरकारलाई सच्चिन सुझाव दिए ।

सरकारका कारण व्यवस्था नै खराब हो कि भन्ने जनतामा भ्रम परेको र व्यवस्थामा प्रश्न उठेको भन्दै उनीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन ।

सुशासन मात्रै होइन, सरकारको संविधान र व्यवस्थामाथिको प्रतिबद्धतामाथिनै उनीहरुको प्रश्न छ । किनकी सरकारको संघीयता विरोधी व्यवहार पनि यसमा कारक बनेको जनता समाजवादी पार्टीको तर्क छ ।

सरकारकै कारणले समस्या सिर्जना भएको र त्यसको फाइदा राजावादीले लिन थालेको भन्नेमा प्रमुख प्रतिपक्षी कांग्रेस र विपक्षी जनता समाजवादी पार्टी मात्रै होइन, ओली सरकारलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चा पनि छ ।

यता गणतन्त्र विरोधी प्रदर्शनमा समर्थन र अगुवाई गरिरहेको राप्रपाले बैठकमा पनि यो कुरा दोहोर्‍यायो । र यही संविधानमा राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको विषय समेट्न प्रस्ताव गर्‍यो । तर आफूहरु गणतन्त्रविरोधी भने नरहेको उसको प्रष्टिकरण छ ।

तर गणतन्त्र पक्षधर सबै दलले यो संविधान र व्यवस्थाप्रति प्रतिबद्धता जनाउँदै त्यसका लागि सरकारले जनमुखी काम गर्नु पर्ने भन्दै राजतन्त्रको स्पेश खोज्ने मागलाई खारेज गरिदिए । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिलेकै प्रदर्शनबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिनुभयो । तर सरकारप्रति अरु दलको आक्रोश भएपछि प्रधानमन्त्रीको पनि अरु दलप्रति गुनासो छ ।

प्रधानमन्त्री ओलीले भने अग्रगमनकारी शक्तिनै सरकारविरुद्ध आक्रामक बन्दा प्रतिगमनकारीले खेल्ने मौका पाएको भन्दै विरोधका लागि विरोध नगर्न भन्नुभयो । तर अब दलहरुबीचको छलफल र परामर्शलाई पनि प्रधानमन्त्रीले सघन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राजावादीका प्रदर्शन र कोभिड नियन्त्रणमा सरकारको प्रयासका विषयमा छलफल गर्न बोलाउनुभएको थियो । तर दलहरुले सरकारको रिपोर्ट कार्ड राम्रो नभएको बताएर सच्चिन सुझाव दिए । आफ्नै दलभित्रबाट असफल करार गरिएका प्रधानमन्त्री ओलीमाथि अन्य दलले पनि प्रश्न उठाए । अब यी प्रश्नहरुको जवाफ सरकारले कामबाटै दिनुपर्छ किनकी सरकारका राम्रो कामले नै व्यवस्था सुरक्षित हुने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्