Main News

सर्वोच्च शिखर प्रमाणितदेखि अहिलेसम्म सगरमाथाको नालिबेली (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते २०:४९
सर्वोच्च शिखर प्रमाणितदेखि अहिलेसम्म सगरमाथाको नालिबेली (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । नेपालको पहिलो परिचय विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएको छ । विदेशमा गएर आफ्नो देश चिनाउँदा हामी सबैले सगरमाथाको देश नेपाल भनेर चिनाउने गर्दछौं । सगरमाथा कहिले विश्वको आकर्षण बन्यो ? कहिले यसको उचाइ मापन गरियो ? यसको नाम कसरी राखियो ?

नेपालीमा सगरमाथा, तिब्बती भाषामा चोमोलोङ्मा र विश्वले माउण्ट एभरेष्ट भनेर चिन्ने यो चुचुरो हिमालय हिम श्रृङ्खलाको महालंगुर उपहिमश्रृङ्खलामा पर्दछ । इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथा भनि नामाकरण गर्नुभएको थियो । जसको अर्थ हुन्छ, आकाशको शिर ।

सगरमाथाको पहिचान १९औं सताब्दीमा भएको थियो । १८५२ मा ब्रिटिस सर्भे अफ इण्डियाको सर्भे विभागले गरेको सर्भेले पिक फिफ्टिन नाम दिएर यो विश्वकै सर्वोच्च शिखर भएको प्रमाणित गरेको थियो ।

सन् १८६५ मा यसको नाम माउण्ट एभरेष्ट राखियो । बेलायती अध्ययनकर्ता सर जर्ज एभरेष्टको नामबाट अन्तरराष्ट्रिय रुपमा नयाँ नामाकरण गरिएको थियो ।

सन् १९२० मा दलाई लामाले तिब्बतबाट सगरमाथा आरोहणका लागि बाटो खोलिदिए । त्यसअघि कसैलाई पनि सगरमाथा आरोहणको अनुमति दिइएको थिएन ।

त्यसको अर्को वर्ष अर्थात सन् १९२१ मा बेलायतको एउटा समूहले सगरमाथा आरोहणको प्रयास गरेको थियो । तर, आरोही जर्ज मालोरी नजिकै पुगे पनि सफल हुन सकेनन् ।

सन् १९२२ मा अर्को टोलीले सगरमाथा आरोहणको प्रयास गरेको थियो । जुन बेला विशाल हिम पहिरो खस्दा बेलायती र शेर्पासहित सात जनाको मृत्यु भएको थियो ।

सन् १९२४ बेलायती आरोहणकर्ता मालोरीले अर्को प्रयास गरे । उनी र साथमा गएका अर्का बेलायती आरोहणकर्ता एन्ड्र्यु इर्भिन हराए । उनीहरु चुचुरोमा पुगे कि पुगेनन थाहा हुन सकेन ।

सन् १९५२ मा तेन्जिङ नोर्के र स्वीस अरोहणकर्ता रेमण्ड लम्बर्टले आरोहणको प्रयास गरे । तर, प्रतिकुल मौसमका कारण उनीहरुले पनि चुचुरोमा पाइला टेक्न सकेनन् ।

त्यसको एक वर्षपछि न्यूजिल्याण्डका आरोहणकर्ता सर एडमण्ड हिलारी र तेन्जिङ नोर्केले सगरमाथाको सफल अरोहण गरे ।
सन् १९५४ मा भारतको ग्रेट टिगोनोमेट्रिकल सर्भे अफ इण्डियाले गरेको अध्ययनको रिपोर्ट अनुसार सगरमाथाको उचाई आठ हजार आठ सय ४ र तय गरियो ।

सन् १९९९ मा जर्ज मालोरी र इर्भिनको मृत शरीर भेटियो । २७ हजार फिटको उचाइमा उनीहरुको शव भेटिएको थियो । तर, उनीहरुले आरोहण गरेको बारे कुनै प्रमाण भेटिएन । सोही वर्ष स्याटेलाइटबाट पहिलो सगरमाथाको चुचुरो हेरिएको थियो ।

सोही वर्षको नोभेम्बर ११ मा नेशनल जियोग्राफिक सोसाइटीले गरेको सर्भेको रिपोर्ट प्रकाशित गर्दै दुई मिटर बढेको घोषणा गरियो । त्यसपछि विश्वको सर्वोच्च शिखरको उचाई आठ हजार आठ सय ५० मिटर भएको घोषणा गरियो ।

सन २००५ मा चीनले आफूले गरेको अध्ययनका क्रममा सगरमाथाको उचाई ८,८४४ मिटर मात्र भएको बतायो । यसले विश्वभर नै तरंग आयो । चीनको यो प्रतिवेदनमा नेपालले तत्कालै असहमति जनायो ।

नेपालले सगरमाथाको उचाईमा हिउँले ढाकेको अंश पनि समावेश हुनुपर्ने तर्क गरेको थियो । चीनले नाप्दा हिँउ बाहेकको क्षेत्र मात्र समेटेको थियो ।

सन् २००७ मा सगरमाथाको चुचुरोबाट बेलायती आरोहणकर्ताले पहिलो पटक मोबाइल फोनबाट संबाद गरे । उनले त्यहाँबाट यहाँ जाडो छ । तर, अद्भुत छ र जताततै हिमालय देखिन्छ भनेका थिए ।

यसक्रममा सगरमाथाको उचाइ नाप्ने कामहरु भइरहे । इटालीले सन् १९८७, १९९२ र २००४ मा उचाई नापेको थियो । यस्तै चीन, अमेरिका, डेनमार्कले पनि सगरमाथाको उचाई मापन गरेका थिए । तर, सबै सर्भेमा विश्वको सर्वोच्च शिखरको उचाई फरक फरक पाउँदा शंका र द्विविधा देखिएको थियो ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका क्रममा आएको हिमपहिरोमा परी कम्तिमा २२ जनाको मत्यु भयो । यही भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने आशंकामा पुनः नाप्ने प्रक्रिया अघि बढाइएको थियो । यिनै घटनाक्रमका बीच सगरमाथाको उचाइलाई लिएर देखिएका सबै आशंका अहिले समाप्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *