प्रधानमन्त्री ओलीले भने–हत्याहिंसाको विकराल कालखण्ड दोहोर्याउन खोजियो
२३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा जेष्ठ नागरिक आवासगृह शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताउनु भएको हो ।
पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गर्नुभयो । मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताउनुभयो । साथै आफ्नो सरकारले यस्ता गतिविवधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको पनि बताउनुभयो । राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।
प्रतिक्रिया