प्रधानमन्त्री ओलीको आव्हानमा सर्वदलीय बैठक आज
२३ मंसिर, २०७७ काठमाडौं । राजतन्त्रका पक्षमा सभा जुलुस बढ्दै गएपछि सरकार गम्भीर देखिएको छ । परिवर्तनकै विरुद्धमा आन्दोलन बढेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाउनुभएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका तर्फबाट समसामयिक राजनीतिक विषय भनिए पनि बैठक राजतन्त्र र हिन्दू राज्यको पक्षमा भैरहेको आन्दोलनमा केन्द्रीत हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने संकेत देखिएको र पछिल्लो व्यवस्थामा दृढ रहने संकल्प गर्ने उद्देश्यसहित सर्वदलीय बैठक बोलाइएको बुझिएको छ।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुसँगको आग्रह र अनौपचारिक छलफलपछि बैठक बोलाइएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिएका छन ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा यसबारे जनार्दन शर्माले गम्भीर ढंगले कुरा उठाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल गर्नका लागि आवश्यक परे सर्वदलीय बैठक बोलाउने बताउनुभएको थियो ।
प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि यसबारे सरकारको धारणा के हो भनेर सोधकाले सबैको धारणा सुनेर कदम चाल्न बैठक बोलाइएको ती नेताले बताए । संविधान र प्रणालीकै बारेमा प्रश्न उठेकोले प्रधानमन्त्री ओली यसमा गम्भीर रहेको पनि उनले बताए ।
सत्तारुढ नेकपाले राजावादीको आन्दोलनमा भारतीय हिन्दूवादीका घुसपैठ हुन सक्ने गम्भीर आशंका छ । प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादी आन्दोलनमा समर्थन र अगुवाई गरिरहेको राप्रपालाई पनि बोलाइएको छ ।
प्रतिक्रिया