Main News

६ सय मिटर सडक कालोपत्रे गर्न काठमाडौंमै लाग्यो ६० वर्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २२ गते २०:३२
६ सय मिटर सडक कालोपत्रे गर्न काठमाडौंमै लाग्यो ६० वर्ष (भिडियोसहित)

२२ मंसिर, २०७७ काठमाडौं । देश संघीयतामा गएसँगै जनताले आफ्नै ठाउँमा सिंहदरबार पुगेको अनुभूति गर्छन् भनिएको थियो । तर स्थानीय सरकार बनेको तीन वर्ष बितिसक्दा पनि अपवादबाहेक जनताले सिंहदरबारको अनुभूति गर्न पाएका छैनन् ।

यतिसम्म की केही मिटर सडक कालोपत्रे हुन पनि उनीहरुले वर्षौ‌ कुर्नु परेको छ । आज हामी यहाँहरुलाई देशको राजधानी काठमाडौंभित्रकै एउटा यस्तो ठाउँको दृश्य देखाउँदै छौ‌ । जहाँ कालोपत्रे सडकमा हिँड्ने सपना पूरा हुन ६० वर्ष लाग्यो ।

अहिले सडक कालेपत्रे भइरहेको छ । र कालोपत्रे भएको हेर्नेको लर्को लागेको छ । यहाँ जम्माजम्मी ६ सय मिटर मात्र सडक कालोपत्रे भइरहेको छ । आफ्नो टोलको सडक यसरी कालोपत्रे भएको हेर्न यहाँका बासिन्दाले ६० वर्ष कुर्नुपर्यो । ६ सय मिटर सडक कालोपत्रे हुन नागरिकले ६० वर्ष कुर्नु परेको यो कथा कतै नभइ देशको राजधानी काठमाडौंभित्रकै हो ।

सीतापाइला चोकदेखि २ दशमलव ७ किलोमिटर पश्चिम डाँडापौवा सीताराम स्कूलसम्मको यो ट्रयाक २०१८ सालमा खोलिएको थियो । २०६४ सालमा सितारामस्कूलबाट २०० मिटरसम्मको सडक कालोपत्रे भएको थियो । त्यसयता  यो सडक खण्डका जनताले बेला मौकामा ग्राभेल भएको सम्म देख्न पाए । तर कालोपत्रे भएको हेर्ने उनीहरुको धोको पूरा भएको थिएन । अहिले  बल्ल यो सडक कालोपत्रे भएको छ । र यही कारण अहिले उनीहरुको खुशीको सीमा छैन ।

केहीले भने सडक कालोपत्रे भएसँगै यो ठाउँको कायापलट हुने विश्वास गरेका छन् । स्थानीय जनतामा त सडक कालोपत्रे भएकोमा खुशीको सीमा छैन । सँगै यहाँका जनप्रतिनिधिलाई पनि ६ सय मिटर सडक निर्माण गर्नु ठूलो उपलब्धि भएको लागेको छ ।

नागार्जुन नगरवपालिकाले गएको जेठ मसान्तमा युएस कन्सन्ट्रक्सनसँग सडक निर्माणको सम्झौता गरेको थियो । सम्झौतामा पुस २० गतेसम्म सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भनिएको थियो ।

देशभर समयमा ठेकेदारले काम नगरेको र आयोजनाहरु अलपत्र पारेर छाडेका खबर आइरहँदा यहाँ भने निर्माण कम्पनीले समय सकिनु एक महिना अगावै काम सक्यो । त्यसैले स्थानीय बासिन्दा खुशी त भए नै । उनीहरुले निर्माणमा संलग्न ठेकेदारलाई सडकमै पुगेर सम्मान गरे ।

समय अगावै काम सम्पन्न गर्न सकेकोमा निर्माण कम्पनी पनि खुशी छ । स्थानीय सरकार र स्थानीय जनताको तदारुकताले नै यो सम्भव भएको उनीहरुको भनाइ छ ।

नागार्जुन नगरपालिका वडानम्बर ६ मा पर्ने यो सडक खण्ड १ करोड ८६ लाख लागतमा निर्माण सम्पन्न भएको छ । र कालोपत्रेको गुणस्तरमा कुनै कमि नरहेको नगरापलिकाको दाबी छ ।

त्यसो त स्थानीय सरकार गठन भएको तीन वर्ष भइसक्यो । यो बीचमा स्थानीय सरकारले काया पलट हुने गरि विकास गर्छौं भनेर नभनेका पनि होइनन् । तर पनि यति छोटो सडक कालोपत्रे हुने पालो बल्ल जुर्यो । र यसलाई पनि नगरपालिकाले उत्सवको रुपमा लिएको छ । तर २दशमलव ७ किलोमिटरको यो सडक खण्ड निर्माण सम्पन्न हुन अझै ७ सय मिटर बाँकी छ ।

देश संघीयतामा गएसँगै गाउँ गाउँमा सिंहदरबारको नारा घन्किएको धेरै भयो । तर जनताले आशातित विकासको अनुभूति गर्न पाएका छैनन् । राजधानी जस्तो सुगम ठाउँमै केबल ६ सय मिटर सडक कालोपत्रे गर्न स्थानीय सरकारले ३ वर्ष लगायो ।

देशका दुर्गम ठाउँको अवस्था कस्तो होला हामी कल्पना मात्र गर्न सक्छौं । तर जनता जागरुक हुने हो भने स्थानीय सरकारदेखि ठेकेदारसम्मलाई जवाफदेही बनाउन असम्भव छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *