कोरोनाविरुद्धको खोप नेपालीले कहिले पाउलान् ? यस्तो छ तयारी (भिडियोसहित)
२२ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको छ।कोरोनाको खोपको प्रभावकारिता बढ्दै गएपछि नेपालमा खोप ल्याउन सरकारले तयारी शुरु गरेको हो ।
सरकारले कोरोना भाइरसविरुद्धको खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालीले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्य देशका नागरिकले खोपको प्रयोग गर्ने बेलामा नेपालीले पनि प्रयोग गर्न पाउने सुनिश्चित गरेको दाबी गरेको छ ।
सरकारले द्रुत कार्य योजना अनुसार कोरोना भाइरसविरुद्धको खोप व्यवस्थापनका लागि विभिन्न आठ वटा क्षेत्र पहिचान गरी समिति बनाएको छ । समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण, कोरोना भ्याक्सिनलाई भण्डारण गर्न आवश्यक कोल्ड चेनलाई प्रभावकारी बनाउन काम गर्नेछ । आम नागरिकलाई खोप छिट्टै उपलब्ध गराउन यी सबै तयारी गरिएका हुन् ।
नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ। कोरोनाको खोप १५ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै प्रयोग गरिनेछ । सरकारले शुरुमा तीन प्रतिशत नागरिकलाई र त्यसपछि आवश्यकता अनुसार कोरोनाको खोप लगाउने योजना बनाएको छ ।
कोरोनाविरुद्धको खोप सरकारले सबै नागरिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे पनि खोप भण्डारणमा समस्या छ । जस्ले गर्दा सबै नागरिकलाई सरकारले भनेजस्तै गरी खोप उपलब्ध गराउन र व्यवस्थापन गर्न चुनौती हुने देखिन्छ ।
प्रतिक्रिया