Main News

भैंसीको दुध खाएर हुर्कियो केटो, अब जंगल पठाउन यस्तो तयारी

हिमालय टिभी
२०७७ मंसिर २२ गते १४:३५
भैंसीको दुध खाएर हुर्कियो केटो, अब जंगल पठाउन यस्तो तयारी

२२ मंसिर, २०७७ काठमाडौं । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैंडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ ।

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैंडाको बच्चालाई उद्धार गरी हुर्काइएको हो । पुस्पा नाम गरेकी उक्त गैंडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाड्ने तयारी गरिएको छ ।

गैंडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाड्नुपर्ने दिन नजिकिँदै गर्दा महतरा भने दुखि देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकाले जंगलमा छाडेपनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो ।

पुष्पाले जन्मेदेखि नै जंगलको अनुभव गर्न पाएकी छैन । भैंसीको दुध खाएर हुर्केकी पुष्पालाई शुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ ।

तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकाले पहिला निकुञ्जभित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जंगल कै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जंगलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिक सहितको सहयोगमा हुर्काइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *