आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइँदै
२२ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रम गर्दैछ। शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले १९ सय ९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् ।
हाल नेपालमा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् ।
यसैबीच युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया शुरु भएको जनाएको छ । हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले प्रतिबन्ध हटाउने प्रक्रिया शुरु गरेको जनाएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानून र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया शुरु भएको जनाएको हो ।
यसको लागि नेपालले तीन चरण पार गर्नुपर्नेछ । पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ। दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् ।
अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेश हुनेछ ।
नेपालले हवाई सुरक्षामा लापरवाही गरेको भन्दै ईयूले सन् २ हजार १३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।
प्रतिक्रिया