राजनीति

ओलीको चाहनाविपरीत अघि बढ्यो नेकपा स्थायी कमिटी बैठक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २१ गते २०:४२
ओलीको चाहनाविपरीत अघि बढ्यो नेकपा स्थायी कमिटी बैठक (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै स्थायी कमिटी बैठक शुरु भएको छ । र, बैठकमा ओली चाहना र अडान विपरीत उहाँ विरुद्ध प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव छलफलको विषय बनेको छ । सचिवालयपछि स्थायी कमिटी बैठकमा पनि आफूविरुद्धको प्रस्तावमाथिको छलफल रोक्ने ओलीको प्रयास असफल भएको छ ।

ओलीको चाहना थियो, स्थायी कमिटी नबसोस् । तर प्रचण्ड–नेपाल समूहको अडान अनुसार स्थायी कमिटी बैठक शुरु भएको छ । र, बैठकको शुरुकै दिन ओली जानु भएन । तर बैठक कार्यसूचि बनाएरै अघि बढेको छ । ओली सहभागी नभए पनि पार्टीभित्रको संकटलाई छलफलको विषय बनाइएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले एक अर्कालाई विभिन्न आरोप लगाउँदै पेश गरेको प्रस्ताव, ओली र प्रचण्डले एक अर्कालाई लेखेका पत्र, प्रचण्डसहित पाँच नेताले ओलीलाई लेखेको पत्रलाई छलफलको विषय बनाइएको छ ।

जुन विषयमा ओली छलफल नै गर्न चाहनुुहुन्थ्यो । यी विषय अध्ययन गर्न स्थायी कमिटी सदस्यहरुलाई सात दिनको समय दिइएको छ । तर भड्केका ओलीलाई सहमतिमा ल्याउन यो बीचमा शीर्ष नेताहरुबीच अनौपचारिक छलफल पनि गर्ने बैठकको निर्णय छ । २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका पनि पुस ५ सारिएको छ ।

सचिवालयमा अल्पमतमा परेका ओली स्थायी कमिटीमा पनि अल्पमतमा हुनुहुन्छ । अल्पमतमा परेपछि ओलीलाई कमिटीका बैठकलाई छल्न खोजेको आरोप लागिरहेको छ । ओली समूह अल्पमतमा रहेकाले रक्षात्मक छ भने बहुमतमा रहेको प्रचण्ड–नेपाल पक्ष आक्रामक । स्थायी कमिटी बैठकमा ओलीले छलफल नचाहेको विषयमा जमेर छलफल गर्न प्रचण्डले सबै स्थायी कमिटी सदस्यहरुलाई अपील गर्नुभएको छ ।

स्थायी कमिटीका ४३ जना मध्ये १७ प्रचण्ड, माधवकुमार नेपाल पक्षका १३ र ओली पक्षका १३ सदस्य छन । अर्थात बहुमत अल्पमत गर्नुपर्ने अवस्था आएमा स्थायी कमिटीमा ओलीका विरुद्धको प्रस्ताव सहजै पारित हुने देखिन्छ ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले ओलीले पूर्ण कार्यकाल सरकार चलाउने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी चलाउने भनेर क्षेत्राधिकार तोक्यो । सरकार र पार्टी संचालनमा सरसल्लाह गर्ने, मन्त्रिपरिषद पूनर्गठन पनि सहमतिमै गर्ने निर्णय भयो । र, यसले पार्टीको विभाजन टरेको थियो । तर निर्णय कार्यान्वयनको साटो आफूखुशी गरेको भन्दै ओलीमाथि प्रश्न उठ्यो र विवाद भयो । विवाद सचिवालयमा नमिलेपछि फेरि स्थायी कमिटीमा आएको छ । तर फरक रुपमा । अब नेकपाको स्थायी कमिटीले के निर्णय गर्छ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्