Main News

नेकपा विवाद मिलाउन शीतल निवास सक्रिय, मिलेर अघि बढ्न राष्ट्रपतिको सुझाव

हिमालय टिभी
२०७७ मंसिर १९ गते ७:३९
नेकपा विवाद मिलाउन शीतल निवास सक्रिय, मिलेर अघि बढ्न राष्ट्रपतिको सुझाव

१९ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतल निवासले प्रयास जारी राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेटेर विवाद मिलाउने प्रयास गर्नु भएको हो ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको बुझिएको छ । नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ ।

गएको आठ महिनायताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानु भएको थियो । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ । प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न जानु भएको थियो । ओली फर्किएलगत्तै प्रचण्ड शीतल निवास पुग्नुलाई चासोका साथ हेरिएको छ ।

प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले बहुमतबाट निर्णय नगर्न र पार्टीलाई फुटबाट जोगाउन नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको बुझिएको छ ।

प्रचण्डले भने केपी ओलीकै कारण समस्या आएको राष्ट्रपतिलाई बताउनु भएको थियो । प्रचण्ड शीतल निवास जानु अगाडि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ खुमलटार जानु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *