Main News

झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १७ गते २०:०४
झडपले त्रासमा बाँकेको बनिया गाउँ, गाउँ सुरक्षाकर्मीको घेरामा (भिडियोसहित)

१७ मंसिर, २०७७ बाँके । गाउँलेबीचको झडपमा एक जनाको ज्यान गएपछि बाँकेको बनिया गाउँ तीन दिन देखि अशान्त छ । गाउँले त्रासमा छन् । समुदायबीचको विवादले राजनीतिक रुप लिएपछि गाउँमा तनाव चर्किएको हो । फेरि झडप हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपालगञ्जसँगै जोडिएको बनियाँ गाउँ । झडपपछि तनावपूर्ण बनेको गाउँलाई तीन दिनदेखि सुरक्षाकर्मीले घेरेर राखेका छन् । गाउँमा त्रासको वातावरण छ । गाउँले तीन दिनदेखि ढुक्कसँग निदाउन पाएका छैनन् ।

मंसिर १५ गते पूर्णिमाका दिन लागेको मेला पछि झडपमा परिणत भएको थियो । झडपमा ४५ वर्षीय धनिराम यादवको मृत्यु भयो । ५ जना घाइते छन् । मृत्यु भएको तीन दिनपछि आफन्तहरुले अस्पतालबाट शव बुझेर घर लगेपछि रुवावासी चलेको छ ।

यादव र कादु समुदायबीचको विवाद स्थानीय तहको चुनावपछि राजनीतिक दुश्मनीमा परिणत भएको थियो । पछिल्लो घट्ना त्यसैको निरन्तरता हो । आक्रमणमा संलग्न युवामाथि कडा कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई राहत दिनुपर्ने स्थानीय बासिन्दा र आफन्तको माग छ ।

मास्क, हेलमेट लगाएका युवाले घरमै बसेकामाथि कुटपिट र तोडफोड गरेको पीडितले बताएका छन । फोनबाट फेरी पनि आक्रमण गर्ने धम्की आइरहेकाले गाउँमा त्रास कायमै छ ।

गाउँमा थप तनाब हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पीडितका आफन्तले आक्रमणमा दिनेश यादव कादुसहित १७ जना संलग्न रहेको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । प्रहरीले २ जनालाई पक्रेर कारबाही सुरु गरेको छ । किटानी जाहेरी परेका अन्य युवा फरार छन् । राजनीति समेत मिसिएको समूदायबीचको विवाद हल गर्न र गाउँमा शान्ति र अमन चयनको वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *