Main News

एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, विश्वसनीयतामा विज्ञको प्रश्न (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते २०:०६
एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, विश्वसनीयतामा विज्ञको प्रश्न (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरस पत्ता लगाउन सरकारले एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु गरेको छ । सरकारले एन्टिजेन परीक्षण अघि बढाएसँगै विज्ञले भने यसको विश्वसनीयतामै प्रश्न उठाएका छन् । विश्वमा यो विधिको प्रभावकारिता कम देखिएकाले प्रश्न उठेको हो ।

निकै छिटो नतिजा दिने भएकाले एन्टिजेन विधिबाट परीक्षण अघि बढाइएको सरकारको तर्क छ । सरकारले पाँच सयभन्दा बढी संक्रमित भएको स्थानीय तहमा यो विधिमार्फत परीक्षण गर्ने तयारी गरेको छ । समुदायस्तरमा संक्रमित पत्ता लगाएर आइसोलेसनमा राख्ने उद्देश्यसहित एन्टिजेन परीक्षण शुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको दाबी छ ।

सरकारको भनाइसँग विज्ञहरु भने सहमत छैनन् । किनभने एन्टिजेन परीक्षणको विश्वसनीयता पीसीआर परीक्षणको भन्दा निकै कम छ । यो विधिबाट परीक्षण गर्दा भाइरस नदेखाउने सम्भावना उत्तिकै हुन्छ । त्यसैले विज्ञले एन्टिजेन परीक्षण अघि बढाउनु पहिले धेरै सोच विचार गर्न सुझाव दिएका छन् ।

एन्टिजेन परीक्षणको नतिजा १५ मिनेटमै आउँछ । यसमा आरडीटी परीक्षणमा प्रयोग गरिने जस्तै किट प्रयोग गरी व्यक्तिको स्वाब राखिन्छ । नतिजाका लागि लामो समयसम्म कुर्न नपर्ने, जहाँसुकै गएर पनि गर्न सकिने भएकाले यो विधि सहज र सरल छ । तर विश्वसनीय नभएकाले यदि कसैमा संक्रमण देखिए पुनः परीक्षण गर्नुपर्ने हुनसक्छ । जसका कारण प्रक्रिया झन झन्झटिलो हुने संभावना छ ।

विश्वसनीय नभएकाले एन्टिजेन विधि विश्वका विकसित मुलुकमा बन्द गरिसकिएको छ । कतिपय अध्ययनले यसको प्रभावकारिता जम्मा ३५ प्रतिशत मात्रै भएको बताएका छन् । पीसीआर परीक्षणका लागि निकै समस्या हुने क्षेत्रमा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर पत्ता लगाउन यो विधि सहयोगी हुनसक्छ । तर सबैतिर एन्टिजेनकै मात्रै भर पर्न थालियो भने संक्रमण भित्रभित्रै फैलने जोखिम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *