राजनीति

यस्तो छ नेकपाभित्र ओली र प्रचण्ड–नेपाल पक्षको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते २०:३४
यस्तो छ नेकपाभित्र ओली र प्रचण्ड–नेपाल पक्षको तयारी (भिडियोसहित)

१५ मंसिर, २०७७ काठमाडौं । फुटको डिलैमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद निर्णायक मोडमा पुगेको छ । पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनको नाममा पेस गरेको आरोपप्रत्यारोप पत्रले नेकपाको एकतामाथि नै गम्भीर प्रश्न समेत उठेको छ ।

प्रतिवेदनमार्फत नै दुई अध्यक्ष ओली र प्रचण्डले एकले अर्कोलाई अस्वीकार गर्ने प्रष्ट जवाफ दिएको अवस्थामा अब नेकपाको एकता कसरी जोगिएला ? कसरी निकास निस्किएला । धेरैलाई अहिले चासो छ ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पन्ने प्रस्तावको जवाफमा अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते ३८ पृष्ठको जवाफ दिनुभयो । लिखित रुपमै दुई नेता व्यक्तिगत रुपमै आरोपप्रत्यारोपमा उत्रेका छन् ।

ओलीले प्रचण्डको प्रस्ताव खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष यसका लागि तयार छैन । त्यसैले नेकपामा अबको बाटो र निकास के भन्ने प्रश्न उठेको छ । र, दुवै पक्ष अहिले आफू अनुकुल तयारीमा लागेका छन । सचिवालयदेखि त्यो भन्दा तल्लो कमिटीसम्म यसै गरी लबिङ भैरहेको छ ।

बहुमत–अल्पमतको तयारीमा प्रचण्ड–नेपाल पक्ष
सचिवालयमा बहुमतमा रहेको प्रचण्ड नेपाल पक्ष दुवै प्रस्तावमा छलफल हुनुपर्ने पक्षमा छ । सकेसम्म सहमति नभए विधि पद्धति अनुसार बहुमत अल्पमतका आधारमा पनि निकास दिनुपर्ने प्रचण्ड नेपाल पक्षको जोड छ । सचिवालयमा निर्णय नभए स्थायी र केन्द्रीय कमिटीमा प्रस्ताव लैजान प्रचण्ड नेपाल पक्षले तयारी गरिरहेको छ ।

ओली पक्ष भन्छः बहुमत–अल्पमत हुनै सक्दैन्
घुमाउरो ढंगले पार्टीभित्रका कमिटीमा अल्पमतमा रहेको स्वीकार गरेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा अल्पमत बहुमत मान्दिनँ भनिसक्नुभएको छ । सहमतिमै महाधिवेशनसम्म जानुपर्ने ओलीको अडान छ ।

किनकी अहिले बहुमत र अल्पमतको व्यवस्था नै नगरेको उसको दावी छ । अल्पमत गर्ने हो भने एकता भंग भएर एकताकै लागि नयाँ ढंगले बहस शुरु हुने ओली पक्षको तर्क छ । के त्यसका लागि अर्को पक्ष तयार हो भन्ने प्रश्न पनि ओली पक्षको छ ।

निर्णय नमान्ने नेदेश र जनताप्रति गैर जिम्मेवारः प्रचण्ड–नेपाल पक्ष
तर ओली पक्षको बहुमत अल्पमत नहुने र नमान्ने तर्क र अडानको प्रचण्ड–नेपाल पक्षले प्रतिवाद गरेको छ । उसले ओली पक्षको तर्कलाई गैर जिम्मेवार भनेको छ । ओली पक्षले माथि दुई अध्यक्षबीच सहमतिको प्रयास गर्दा प्रचण्ड–नेपाल पक्ष भने दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटी र आवश्यकता अनुसार केन्द्रीय कमिटीमा लैजाने पक्षमा छ ।

ओली पक्ष दुवै प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव तयार पार्ने र सहमतिका लागि भदौ २६ को स्थायी कमिटीको निर्णयमा फर्किने भनिरहेको छ । र, उसका अनुसार यो नै अहिलेको निकास हो । तर प्रचण्ड–नेपाल पक्ष परिस्थिति त्यो भन्दा अघि बढेको ठानिरहेको छ, किनकी भदौ २६ कै निर्णय ओलीले उल्लंघन गरेकोले समस्या आएको उसको ठहर छ । ओलीले भदौ २६ को कुरा गर्नुका पछाडि दुवै पद जोगिने त्यतिबेलाको निर्णयमा आफ्नो सुरक्षा देख्नुभएको छ भने परिस्थिति धेरै अगाडि बढ्यो भनेर एकपदबाट ओलीलाई हटाउने र त्यसका लागि बहुमतबाटै निर्णय गर्ने प्रचण्ड नेपाल पक्षको तयारी छ । यसले मंगलवारको सचिवालय बैठक पनि पेचिलो हुन देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्