उपत्यकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु

१५ मंसिर, २०७७ काठमाडौं । सरकारले आजदेखि एन्टिजेन विधिबाट कोरोना परीक्षण थालेको छ ।
काठमाडौं उपत्यकामा आजदेखि एन्टिजेन विधिबाट प्रत्येक दिन झण्डै ५ सय जनाको परीक्षण गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिनुभएको छ ।
महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा परीक्षण शुरु भएको छ । महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा परीक्षण गरिनेछ ।
शुरुमा उपत्यकामा परीक्षण हुने र त्यसको प्रभावकारिताको अवस्था हेरेर उपत्यका बहिर पनि परीक्षण थाल्ने महाशाखाले जनाएको छ । त्यसका लागि सातै वटा प्रदेशमा एन्टिजेन परीक्षणका लागि तालिम शुरु भइसकेको डाक्टर पाण्डेको भनाइ छ ।
एन्टिजेन सामान्य परीक्षणको आधारमा संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैं जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्यापिड टेस्ट किटमार्फत गरिने परीक्षण विधि हो ।
परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक र घाँटीबाट नै स्वाब लिनुपर्छ। स्वाब लिएर र्यापिट एन्टीजेन किटमा एक थोपा राख्दा संक्रमित वा पोजेटिभ भएको थाहा हुन्छ ।
पीसीआर परीक्षणबाट स्वाब संकलन गरेको ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा यसबाट आधा घण्टाभित्रै रिर्पोट आउने बताइएको छ । त्यस्तै पिसिआरको तुलनामा यो परीक्षण धेरै सस्तो पनि हुने बताइएको छ ।
प्रतिक्रिया