आज एकैदिन देशभर ३ सय ९६ वटा आधारभूत अस्पताल शिलान्यास गरिँदै
१५ मंसिर, २०७७ काठमाडौं । आज देशभर एकैपटक ३ सय ९६ वटा आधारभूत अस्पताल र सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको शिलान्यास गरिँदैछ ।
सरकारले ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागेको हो।
अस्पताल नभएका ६४९ मध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण थालिनेछ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।
आज शिलान्यास हुने अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । आज शिलान्यास हुने अस्पताल ५, १० र १५ शय्याका हुनेछन्। सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ।
अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइने छ ।
अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ। अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ। अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको छ ।
प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछ। त्यसैगरी, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३र ५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बनाइने छ।
आज अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम छ।
प्रतिक्रिया